शान्ति सुरक्षा माग्दै अमरेशविरुद्व सिडिओ कार्यालयमा उजुरी
सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्व उजुरी परेको छ। नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका हुन।
ठाकुरले आफुविरुद्ध सुनियोजित रुपमा आक्रमण गर्न लगाएको शुक्रबार सिंहविरुद्व उजुरी दिएका हुन् । उनले सांसद सिंहबाट असुरक्षित रहेकोले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् ।
बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले बताएका छन्। ‘जबसम्म उसको गुण्डागर्दी र भ्रष्टाचारलाई सतहमा ल्याईदैन तबसम्म म चुप हुने छैन्’ ठाकुरले सामाजिक संजालमा लेखेका छन्–‘मलाई मार्ने धम्की वा डर देखाएर चुप गराउने सपना नदेखे हुन्छ अमरेशले ।’
यसअघि ठाकुरेल सांसद सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्। सिंहले अकुत सम्पत्ति कमाएकाले छानविन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ।