News

प्रचण्डलाई माधव नेपालको चेतावनीः सरकार ढल्न सक्छ !

प्रचण्डलाई माधव नेपालको चेतावनीः सरकार ढल्न सक्छ !

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन। बजेट यथास्थितिमा पास भए सरकार ढल्ने उनले आशय ब्यक्त गरे। ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन’ उनले भने–‘यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ।’

बजेटमा सबैजना असन्तुष्ट रहेकाले प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने उनको चेतावनी छ। ‘प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ,’ नेपालले भने, ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ। यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ।’

सांसदहरुले बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भएको बताउँदै बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिएका छन्। सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा आशंका उत्पन्न भएको छ।

विशेष