News अपराध सुरक्षा

सुन तस्करीमा नाम जोडिएका सई संजेलले लागु औषध तस्करलाई गोली हाने

सुन तस्करीमा नाम जोडिएका सई संजेलले लागु औषध तस्करलाई गोली हाने

३३ किलो सुन तस्करीका मुख्य नाईके गोरेसँग नाम जोडिएका नेपाल प्रहरीका सई बालकृष्ण सन्जेलले गोली हान्दा लागु औषध कारोवारी भारतीय नागरिक विकास भगत घाईते भएका छन्।

भगतलाई सन्जेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकै गोली हानेका हुन। प्रत्यक्षदर्शीका अनुसार नियन्त्रणमा लिने क्रममा सामान्य विवाद भएपछि सन्जेलले गोली चलाएका थिए।

गोली प्रहार भएको विषयमा प्रहरीका भने दुई खाले प्रतिक्रिया आएका छन्। कसैले नियन्त्रणमा लिन खोज्दा प्रहरीको संवेदनशील अंगमा प्रहार गरेर भाग्न खोजेपछि गोली चलाईएको वताएका छन् भने कसैले भने प्रहरीको हतियार खोसेपछि गोली हानीएको दावी गरेका छन्।

घुँडामुनि गोली लागेका भगतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको साथबाट एक सय ग्राम खैरो हिरोइन बरामद गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले एक महिना अघिदेखि उनको ग्याङको पिछा गरेको जनाईएको छ।

त्यस मध्येमा दुई जना पक्राउ परिसकेका थिए । धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्दै आएका विकास भगतले भारतको जोगबनी नाकाबाट यो गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना पाएपछि ब्यूरोको एक टोली विमानस्थलमा खटिएको थियो । विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएर होटलमा प्रवेश गरेका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग विवाद भएपछि उनले प्रतिकार गर्न खोजेको र गोली चलाउनु परेको वताईएको छ।

उनले प्रहरीकै हतियार खोसेपछि गोली चलाउनु परेको जनाईएको छ। काठमाडौंमा खैरो हिरोइन सप्लाईमा विकास लामो समयदेखि सक्रिय रहेको प्रहरीको दावी छ। 

सुन तस्करी ३३ किलो सुन बालकृष्ण सन्जेल

विशेष