News

तत्कालिन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी राजश्व चुहावट मुद्दामा ठहर

तत्कालिन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारी राजश्व चुहावट मुद्दामा ठहर

विशेष अदालतले तत्कालिन सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई राजश्व चुहावट मुद्दामा ठहर गरेको छ । कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा उनीहरु दोसी ठहर भएका हुन।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत, सदस्य सचिव शर्मा र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप थियो। सोही आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । 

आयोगले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरुको सजाय भने निर्धारण भएको छैन ।

३ वर्षभन्दा बढी कैद हुने मुद्दामा १ महिनाभित्र सजाय निर्धारण गर्न पेसी तोक्नुपर्ने व्यवस्थाअनुसार छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्यसचिवको हैसियतमा कार्यरत थिए । २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर) का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो  ।

२०७१ भन्दा अघिको आयकर बक्यौता र २०५८ अघिका विभिन्न कर बाँकी रहे आपसी सहमतिमा फर्छ्योट गर्नुपर्नेमा आयोगका पदाधिकारीले भ्याटसमेत छुट दिएका थिए । कार्यादेशमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरूलाई कर छुट नदिने भनिए पनि उनीहरूले छुट पाएका थिए । त्यसको क्षेत्राधिकार बाहिर गई बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्योट गरी सम्झौता गर्दा राज्यकोषमा नोक्सानी भएको अख्तियारको दाबी थियो।

२०७३ साल चैतमा महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा कर फर्छ्योट आयोगको अनियमितताबारे औंल्याएको थियो । सिद्धान्ततः अधिकतम ‘बक्यौता’ उठाउन र नाम मात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीहरूले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाम मात्रैको बक्यौता उठाएका थिए ।

कर फर्छ्योट आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको महालेखाको निष्कर्ष थियो । आयोगबाट ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्यौट ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो । आयोगमा १ हजार ७ सय २६ वटा निवेदन परेकामध्ये १ हजार ६९ वटा निवेदनमाथि कारबाही गरी सम्झौता भएको थियो । ४० अर्ब ८३ करोड रुपैयाँको बक्यौतामाथि निवेदन परेकामा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा आएको थियो । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशत मात्रै आम्दानी भएको थियो । 

चुडामणि शर्मा

विशेष