News

प्रचण्ड भारत गएपछि पूर्वराजाका विषयमा चन्द्र भण्डारीको भावुक अन्तरवार्ता

नेताहरु आफु राजा र छोराछोरीलाई राजकुमार/राजकुमारी बनाउन खोज्दा गणतन्त्र विकृत भयो

प्रचण्ड भारत गएपछि पूर्वराजाका विषयमा चन्द्र भण्डारीको भावुक अन्तरवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा रहेका वेला नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पूर्वराजा ज्ञानेन्द्रका विषयमा दिएको भावुक अभिब्यक्ति सामाजिक सञ्जालमा चर्चित भएको छ।

आगलागीमा परेर गम्भिर घाईते भई भारतमा लामो उपचार गराएर फर्किएका सांसद भण्डारीले राजनीतिक दलका नेताहरुले पूर्व राजाको सादगीपनको फाईदा लिन नसकेको र आफै राजा हुन खोजेर गणतन्त्रलाई नै विकृत वनाएको आरोप लगाएका छन्।

पत्रकार टिकाराम यात्रीसँगको एउटा अन्तर्वातामा उनले नेपालमा गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्रको पनि उत्तिकै योगदान रहेको जिकिर गरेका छन्। ‘यदि राजाले नमानेको भए त्यतिवेला, राजा त आर्मी चिफ थिए। यति ठुलो हिन्सा हुन्थ्यो, यति धेरै मान्छे मर्थे। यो गणतन्त्र ल्याउन त उनको पनि योगदान छ नी’ उनले भनेका छन्–‘पत्रकारहरुलाई ल्याएर, २४५ वर्षको राजदण्ड वुझाई दिएर, आफै गाडी चलाएर हाँस्दै गएका हुन नी।’

ज्ञानेन्द्रको त्यो पक्षलाई नेताहरुले मुल्यांकन नै गर्न नसकेको नेता भण्डारीको भनाई छ। ‘त्यो पक्ष विश्वको इतिहाँसमा कम छ। हामीले त्यो पक्ष पनि हेर्नु पर्छ’ उनले थपे–‘दोस्रो– अहिले धेरै सुनिन्छ की विदेशमा पैसा धेरै लगे, नेपालमा कमाएर। तर, ति राजा जस्लाई हामीले गाली गर्यौ, जसका विरुद्ध सडकमा नारा लगायौं, उनी त यही छन्। वेला वेलामा ठाउँ ठाउँमा विभिन्न कुरा बोलेका होलान, त्यसलाई पनि हामीले पोजेटिभ लिएर आफुलाई करेक्सन गर्न तिर जानु पर्यो।’

नेताहरुले आफनो असक्षमता छोप्न पूर्वराजालाई गाली गर्ने गरेको उनको धारणा छ। जनताका मुद्दा सम्वोधन भए ज्ञानेन्द्रका पछाडि मान्छे किन जान्थे ? भन्ने आशय ब्यक्त गर्दै उनले भने ‘त्यस कारण हामीले पिपुलको मुद्दाहरुलाई सम्वोधन गर्नु पर्यो। समयले हामीलाई पर्खदैन। समयको धनी को पो हुन्छ र ? हामी सवै समयका गरिव छौं, समयले हामीलाई कहाँ पर्खिन्छ।।’

राजनीतिक दलहरुले सहि मान्छेलाई सहि ठाउँमा राख्न नसकेको परिणाम अहिलेको अवस्था देखिएको भण्डारीले बताए । नेताहरु आफ राजा तथा छोराछोरीलाई राजकुमार र राजकुमारी बनाउन लागेका कारण गणतन्त्र नै विकृत भएको उनको दावी छ। 

‘एउटा राजा फालेर धेरै राजा वन्न खोज्यौं। राजा वस्ने भन्दा राम्रो सोफा खोज्यौं। राजाको भन्दा राम्रो गाडी खोज्यौं। राजाको भन्दा ठुलो घर वनाउँन खोज्यौं। राजकुमार र राजकुमारी भन्दा वढि आफना छोराछोरीलाई वनायौं’ भण्डारीले थपे–‘हरेक नेताका छोराछोरीलाई अहिले हेर्दा हरेक केशमा मुछिएको हामीले पायौं नी। गणतन्त्रको जो राम्रो पक्ष थियो, त्यो पक्षलाई पनि हामीले विकृत वनायौं।’

चन्द्र भण्डारी

विशेष