News

किन पालै पालो भारत जाँदैछन नेपाली नेता?, आज महन्थ ठाकुर उडे

किन पालै पालो भारत जाँदैछन नेपाली नेता?, आज महन्थ ठाकुर उडे

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण लगत्तै मधेशवादी दलका नेता महन्थ ठाकुर पनि दिल्ली उडेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे दिल्लीका लागि उडेका हुन।

उनी स्वास्थ्य उपचारका लागि भारत गएको जनाईएको छ। लोसपाका कार्यालय सचिव प्रदीप पाठकले मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि अध्यक्ष दिल्ली गएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर फर्किएका छन् । दाहाल दिल्ली जानुअघि नै जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली पुगेका थिए । राउत भारतीय जनता पार्टीका नेता तथा सरकार पक्षका केही व्यक्तिलाई भेटेर फर्किए।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यसतर्फ गएका थिए । त्यसको केही दिनपछि काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि भारत पुगेका थिए । उनीहरु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको दावी गरिएको छ ।

सोही सिलसिलामा लोसपाका अध्यक्ष ठाकुर पनि दिल्ली गएको बुझिएको छ । स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ । 
 

विशेष