News

अमेरिकामा पनि तीन वर्ष पढाएका कांग्रेस नेता रिजाल पुरानै पेशामा फर्किए

अमेरिकामा पनि तीन वर्ष पढाएका कांग्रेस नेता रिजाल पुरानै पेशामा फर्किए

नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाल पुरानो पेशामा फर्किएका छन्। १९ वर्षअघि प्राध्यापन पेशामा रहेका रिजाल पुनः सोही पेशामा फर्किएका हुन।

रिजालले आईतवारदेखि पोखरा विश्वविद्यालय अन्तर्गतको एपेक्स कलेजमा एमबिएका विद्यार्थीलाई बिजनेस एडमिनिस्ट्रेसन पढाउन थालेका हुन् । उनले यसै विषयमा पिएचडी गरेका छन् । आफनो पहिलो रुची पनि राजनीति नभएर प्राध्यापन नै रहेको उनले वताएका छन्।

तत्कालिन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई नियन्त्रणमा लिएपछि उनले पढाउन छोडेका थिए। अहिले फेरी आफु सोही कर्ममा लागेको वताएका उनले सक्रिय राजनीतिबाट टाढा भने नरहने स्पष्ट पारे ।

एपेक्सका संस्थापक तथा अध्यक्ष समेत रहेका रिजालले आफूले पढाउने कोर्सको डिजाइन आफैं गरेका छन् । त्यसमा उनले बिजनेस एन्ड इकोनोमिक्स अन्तर्गत नवउदारवाद, अर्थशास्त्रको वित्तीयकरण, आर्टिफिसियल इन्टेलिजेन्स र अर्थतन्त्रमा यसको प्रभाव, राजनीतिमा लोकप्रियतावाद र सार्वजनिक नीतिनिर्माणले त्यसले पार्ने असर, अर्थतन्त्रमा उदाइरहेका महिलाहरु, जलवायु परिवर्तन र आर्थिक पाटो लगायत विषय समेटेका छन्।

उनको कक्षा हरेक साताको आइतबार दुई घन्टा चल्ने जनाईएको छ। फेसबुकमा उनले पहिलो कक्षाका केही तस्बिर पनि शेयर गरेका छन्। कक्षामा पूर्वविद्यार्थी तथा प्राध्यापकहरु समेत बस्न सक्ने गरी तयारी गरिएको कलेजले जनाएको छ।

नेपाली राजनीतिक क्षेत्रमा विद्वान नेताका रूपमा चिनिने रिजाल माधव कुमार नेपालको मन्त्रीमण्डलमा संस्कृति मन्त्री र सुशील कोइरालाको मन्त्रीपरिषद्मा सूचना तथा सञ्चारमन्त्री थिए। उनले अमेरिकाको न्यु योर्क विश्वविद्यालयमा पनि तीन वर्ष पढाएका थिए ।
 

मिनेन्द्र रिजाल

विशेष