News

‘जलहरी प्रकरण’ मा सफाई नपाए आत्मदाह गर्ने सदस्य सचिव थापाको चेतावनी

सुन तौल गर्न आग्रह गर्दा बेवास्ता गरेर राज्यले मलाई चोर करार गर्न खोज्यो

‘जलहरी प्रकरण’ मा सफाई नपाए आत्मदाह गर्ने सदस्य सचिव थापाको चेतावनी

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले ‘जलहरी प्रकरण’ मा छानविन गरेर न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिएका छन्।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा स्पष्टिकरण दिदै उनले यस्तो चेतावनी दिएका हुन। उनले उक्त जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए।

आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने बताएका उनले ‘यो केसमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ?’ भन्दै सांसदहरुसँग प्रश्न राखे।

आफूले पटक–पटक सो जलहरीको सुन तौल गर्न गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै उनी वैठकमै रोए। आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यही हो ? भनी प्रश्न गरे।

‘आयोगले छानबिन गर्न नपर्ने? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउन। यो च्यालेन्ज हो। पुगेन पनि फाँसीदेऊ भनेको।’ उनले भने–‘तर, हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ। मेरा दुईटा बच्चा छन्। मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने ? राज्यको त्यही नीति हो ?’

थापाले सो जलहरी प्रकरणमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाईएको उनले गुनासो गरे। 

जलहरी जलहरी प्रकरण

विशेष