धरानमा कोकाहाको पानीः धरानवासी खुसी हुँदा हर्क साम्पाङ रोए

खानेपानी अभावमा काकाकुल वनिरहेको धरनमा हर्क साम्पाङ मेयरमा निर्वाचित भएपछि श्रमदान मार्फत ९८ औँ दिनमा सोमबार कोकाहाको पानी धरान ल्याईएको छ।
४२ किमी टाढाको ‘कोकाहा खोला’बाट पानी आएपछि धरानमा खुसीयाली छ। तर, पानी झरेको देखेपछि मेयर साम्पाङ भने भक्कानिएर रोेएका छन्।
निर्वाचित भएलगतै खानेपानी समस्या समाधान गर्ने योजना अनुसार पकुवा, सर्दु, सेउती र भालु खोलामा आफैँ खटिएर उनले पानी ल्याए। अन्ततः धराने मेयर साम्पाङ र धरानवासीहरू आफ्नो सुक्खा नगरमा पानी झार्न सफल भए।
यति गर्दापनि धरान २० मा पानी पुगेन। त्यहाँका जनताको प्यास मेटाउन अर्को खोला खोज्ने क्रममा साम्पाङ ४२ किलोमिटर टाढाको कोकाहा खोला पुगे। कोकाहाबाट पानी ल्याउन मेयर साम्पाङले श्रमदान अभियानलाई निरन्तरता दिए।
अन्ततः स्थानीय र मेयरको पहलमा श्रमदान शुरु भएको ९८ औँ दिनमा सोमबार कोकाहाको पानी धरान आईपुगेको छ। कठिन पहाडी भूभाग कटेर मानव बस्तीसम्म पानी आइपुगेपछि मेयर साम्पाङले सबैलाई नुहाउन आउन समेत आग्रह गरेका छन्।
कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। अहिले धरान २० मा पनि झरेको छ।
यो योजनाका लागि देश विदेशबाट ४ करोड बढी आर्थिक सहयोग जुटेको थियो। पाइप, खाद्यान्नलगायत सहयोग आएको थियो। प्रत्येक शनिबार ५ हजारभन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरू श्रमदानमा आएका थिए।
हर्क साम्पाङ