News खेल

मेसी र सर्जियो रामोसले छोडेपछि एम्बाप्पेलाई पनि बेच्ने तयारी गर्दै पीएसजी

मेसी र सर्जियो रामोसले छोडेपछि एम्बाप्पेलाई पनि बेच्ने तयारी गर्दै पीएसजी

लियोनल मेसी, सर्जियो रामोस जस्ता खेलाडीले क्लव छोडेपछि पीएसजीले स्टार फरवार्ड किलिएन एम्बाप्पेलाई पनि बेच्ने तयारी गरेको छ। 

मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने पक्का भइसकेको छ भने सर्जियो रामोसले पनि पीएसजी छाडिसकेका छन् । पीएसजीको गत सिजन फ्रन्टलाइनको तीन स्टारमध्ये एक नेमार पनि साउदी अरेबिया जाने चर्चा छ ।

एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेचेर पैसा कमाउने तयारी थालेको छ। पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ। २४ वर्षीय एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने समयसीमा ३१ जुलाइसम्म मात्र छ। उनले सम्झौता नवीकरण नगर्ने जानकारी क्लबलाई गराइसकेको जनाईएको छ।

पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई अर्को सिजन फ्री ट्रान्सफरमा पठाउनुभन्दा सम्झौता अवधि सकिनुअघि नै बेचेर पैसा कमाउने पीएसजीको योजना छ। एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका थिए । गत वर्षको विश्वकपमा भने एमबाप्पेको टिम अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेता बन्यो ।

एम्बाप्पेलाई केही समययता स्पेनिस क्लब रियल मड्रिडले पछ्याइरहेको छ । रियलले गत वर्ष गरेको प्रस्ताव भने एम्बाप्पेले अस्वीकार गर्दै पीएसजीमै बसेका थिए । करिम बेन्जेमा साउदी क्लब अल इत्तिहादमा गएपछि रियल अहिले स्ट्राइकरको खोजीमा छ । रियलको नजर इंग्लिस फरवार्ड ह्यारी केनमा पनि छ ।

सन् २०१७ मा एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी गएका थिए र पछि पीएसजीमा स्थायी रुपमा अनुबन्ध भए । उनले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरिसकेका छन् । एमबाप्पे पछिल्लो पाँच सिजनदेखि लिग वानको सर्वाधिक गोलकर्ता छन् भने पीएसजीमा ६ सिजन बिताउँदा पाँच लिग उपाधि जितेका छन् । यस्तै उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् ।

केलियन एम्बाप्पे

विशेष