सशस्त्रका इन्स्पेक्टरले हवल्दारलाई पानीमा चोप्दै कुटे, गोरु तस्करसँग मिलेको आरोप
गोरु तस्करसँग मिलेको आरोपमा झापामा सशस्त्र प्रहरी बलका इन्स्पेक्टरको टोलीले सशस्त्रकै प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको छ।
मंगलबार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट सादा पोशाकमा खटिएका इन्स्पेक्टर नभप्रभाव राईसहित तीन जनाको टोलीले मेचीनगर नगरपालिका–४ नकलबन्दास्थित बिओपीमा खटिएका सशस्त्र प्रहरीहरूमाथि कुटपिट गरेको हो। सशस्त्र हवल्दार गणेशबहादुर(पासाङ) तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी कुटिएका छन्।
उनीहरुमाथि मिलेमतोमा गोरु तस्करी गरेको आरोप छ। नकलवन्दाको माता चोकमा ड्युटीमा रहेका पासाङलाई ‘गोरु किन छाडेको ?’ भन्दै सादा पोसाकका प्रहरी निरीक्षक राईले कुटपिट गरेका थिए। ड्युटीमा रहेका पासाङलाई कुट्दै नकलवन्दाको बोर्डर आउट पोस्टमा पुर्याए । त्यसपछि पोस्टमा रहेका अन्य प्रहरीलाई पनि पोसाक लगाउन लगाएर मेची खोलामा चोबल्दै निर्घात कुटपिट गरेको जनाईएको छ।
सशस्त्र प्रहरीलाई कुटपिट गरेको थाहा पाएपछि कुटपिटमा संलग्न राई, प्रहरी जवान राम सुन्दर तामाङ र जीवन बास्तोलालाई स्थानीयले हातपात गरेका थिए। करिव २ सयको संख्यामा भेला भएका स्थानीयले हातपात गर्न थालेपछि स्थिति थप तनावग्रस्त बनेको थिए। स्थानीयले सशस्त्रको गाडी समेत तोडफोड गरेका छन्।
मध्यराति सशस्त्र प्रहरी नम्बर २ हेडक्वार्टरका एसपी देवराज अर्यालसहितको टोली पुगेर आफ्नै कर्मचारी कुट्ने सादा पोसाकका प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता गरेपछि घटना तत्कालका लागि साम्य भएको थियो ।
घटना बाहिरिएपछि सशस्त्र प्रहरीले छानबिन गर्न समिति बनाएको छ। बाहिनीका एसपी बिक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति बनेको हो।
सशस्त्र प्रहरी गोरु तस्कर