News

बालेन्द्रले अफिसमा राखेको ग्रेटर नेपालको नक्शा अपुरो !

ज्ञानेन्द्र शाही भन्छन्– नेपालको उत्तरी सीमाना मानसरोवर सम्म

बालेन्द्रले अफिसमा राखेको ग्रेटर नेपालको नक्शा अपुरो !

भारतको नयाँ संसद् भवनमा मौर्य साम्राज्यकालीन म्युरल (भित्तेचित्र) राखेको विषयले दक्षिण एसियाली देशमा तरंग छ। प्राचीन भारतका दुई विशाल साम्राज्य थिए। चोल साम्राज्यको केन्द्र दक्षिण भारत (तलिमनाडु) थियो भने मौर्य साम्राज्यको केन्द्र उत्तर भारत (बिहार र पटना) थियो ।

संसद भवनमा दक्षिणको पहिचान संगोल (राजदण्ड) र उत्तरको पहिचान म्यूरल स्थापित गरिएको छ। म्युरलमा भारतका अतिरिक्त नेपाल, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, मालदिभ्स, म्यान्मार, श्रीलंका पूरै, इन्डोनेसिया र तिब्बतका केही भूभाग समेटिएको छ । यो विषयमा विभिन्न देशले आपत्ति पनि जनाएका छन्। 

भारतीय विदेशमन्त्री एस. जयशंकरले भित्तेचित्र ‘राजनीतिक नक्सा’ नभएर ‘साँस्कृतिक’ भएको वताएका छन्। भारत वर्षको प्राचीन अवधारणा अनुरूप साँस्कृतिक इतिहासलाई सम्मान गर्न नयाँ संसद् भवनमा यस्तो चित्र राखिएको बताएका उनले म्युरलले अशोका साम्राज्य कस्तो थियो भनेर देखाउन मात्रै खोजेको स्पष्ट पारेका छन्।

तर, नेपालमा भने म्युरलको काउण्टरमा ‘ग्रेटर नेपाल’ को नक्शा अगाडि सारिएको छ। सन् १८१६ को सुगौली सन्धि अघिको नेपाल अधिनस्थ क्षेत्र समेटिएको भूभागलाई ‘ग्रेटर नेपाल’ भनिन्छ । यसको सिमाना पूर्वमा टिष्टा, पश्चिमा सतलज र दक्षिणमा गंगाको किनारसम्म थियो ।

सुगौली सन्धिअघि ब्रिटिस इन्डिया कम्पनीसँग भएको भीषण युद्धपछि भएको सुगौली सन्धिमा नेपालले त्यो भूभाग गुमायो। जुन भूभाग भारतको सिक्किम, पश्चिम बंगाल, उत्तर प्रदेश, बिहार र उत्तराखण्ड प्रदेशमा छ ।  

अहिले सोही नक्सा देखाएर म्युरलको काउण्टर दिन सुरु गरिएको छ। तर, नत ‘अखण्ड भारत’ को सपना सम्भव छ नत ग्रेटर नेपालको कार्यान्वयन सम्भव छ। यो दुवै मनोवैज्ञानिक द्वन्द्व मात्र हो। यसमा वस्तुगत तथा राजनीतिक आधार देखिँदैन । यसले नेपाल र भारत दुवै देशमा नक्कली तथा अन्धराष्ट्रवादको राजनीतिलाई अघि बढाउन मात्र सहयोग गर्ने जानकारहरु वताउँछन्। 

यो फेक वारमा काठमाडौंका मेयर बालेन्द्र साह अग्रपंक्तिमा देखिएका छन्। आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को फोटो टाँसेका उनको व्यापक चर्चा छ। एउटा तप्काले भने दुई देशबीचको सम्बन्धमा स्थानीय तहको भूमिका नहुने भन्दै बालेन्द्रको अपरिपक्क कदमको आलोचना समेत गरेका छन्।

आत्मसन्तुष्टिकै लागि भएपनि ग्रेटर नेपालको कुरा गर्ने हो भने भारततर्फ मात्र नभई चीनतर्फको भुभागको पनि खोजी हुनुपर्ने उनीहरुको मान्यता छ। उत्तरतर्फ पनि नेपालले ठुलो भुभाग गुमाएको वताएका उनीहरुले चीनको षडयन्त्रपुर्ण कदमले नेपालले गुमाएको त्यो भुभागको अहिलेसम्म खोजी नभएको वताएका छन्।

इतिहाँसका जानकाहरुका अनुसार सन् १९५०÷१९५१ मा चीनको अधिनमा आउनु अघिसम्म तिब्बत एउटा स्वतन्त्र र गौरवशाली इतिहास बोकेको स्वतन्त्र राष्ट्र थियो। इतिहास, भूगोल र संस्कृतिले जोडिएका यी मुलुक शान्ति, करुणा र अहिंसाबाट दीक्षित थिए। यही सामाजिक मनोविज्ञान पुस्तान्तरित हुँदै आएको थियो।

यद्यपी तिब्बतसँग सम्वन्ध सधैं राम्रो मात्रै भएन, यदाकदा सम्वन्ध विग्रिदा भयंकर युद्ध समेत भएका छन्। नेपाल र तिब्बतबीच वि.सं १८४६, १८४९ र १९११ गरी तीनपटक युद्ध भए। काठमाडौंका राजा प्रताप मल्लको समयदेखि वि.सं. १८४६ को युद्वका बेलासम्म नेपालको सीमा कुतीसम्म थियो। तिब्बतमा नेपालको प्रभुत्व बढ्दै र आफ्नो प्रभाव घट्दै गएकोमा चीनको टाउको दुख्न थालेको थियो। त्यसैले १८४९ को नेपाल–तिब्बत युद्धमा हस्तक्षेप गर्यो।

सानो संख्यामा रहेको नेपाली सेनासँग लड्न चीनले जनरल कु–क्याङको नेतृत्वमा भयंकर ठुलो भौज पठायो। त्यती ठुलो सेनासँग नेपाल कमजोर भयो। त्यसैले चीनको दबाबमा बेत्रावती नदीको किनारमा असमान सन्धी भयो। १८४९ को युद्धपछि ‘खासा’ भन्ने ठाउँ तिब्बतको मातहतमा गयो र सिमाना स्वतः खासाबाट पनि दक्षिण भैंसेको पुलमा सीमित भयो। कोदारी र रसुवासम्म नेपाल सिमित भयो।

वर्तमान प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता ज्ञानेन्द्र शाहीले समेत उत्तरमा नेपालको सीमाना मानसरोवरसम्म रहेको दावी गरेका छन्। मानोसरभर हुँदै सुरु हुने ब्रम्हपुत्र नदी नै नेपालको सीमाना रहेको दावी गरिन्छ। शाहीका अनुसार त्यतिवेला नेपालको सीमाना पुर्वमा टिष्टा, पश्चिममा कांगडा, उत्तरमा मानसरोवर र दक्षिणमा गंगानदीसम्म रहेको दवी गरेका छन्।

नेपाल–तिब्बतबीचको युद्धमा चीनको कपटपूर्ण हस्तक्षेपका कारण गुमेको त्यस वेलाको भुभाग पनि समेटिए ग्रेटर नेपालको नक्शा पूर्ण हुने जानकारहरु वताउँछन्।

यो पनि,

ग्रेटर नेपाल मानसरोवर ब्रम्हपुत्र

विशेष