सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टी–२० लिगमा छानिए
बलात्कार आरोपमा मुद्दा खेपीरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्रसिंह ऐरी क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी–२० लिगका लागि छनौट भएका छन्।
जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाइ मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।
नेपालबाट सोमपाल कामी र सन्दीपलले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् । सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। यसैगरी सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।
यसपल्ट सन्दीप आवद्ध टिममा एलेक्स हेल्स, लिटोन दास, आयान अफ्जल खानलगायतका खेलाडी छन् । दीपेन्द्र रहेको मोन्टरियलमा बंगलादेशका सुपरस्टार सकिव अल हसन, वेष्ट इण्डिजमा आन्द्रे रसेल, यूएईका कप्तान मोहम्मद वासिमलगायतका खेलाडी छन् ।
दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।
सन् २०१८ देखि सुरु भएको ग्लोबल टी–२० लिगको दोस्रो संस्करण सन् २०१९ मा भएको थियो। त्यसपछि प्रतियोगिता सन्चालन हुन सकेको छैन।