News

मन्दिर घुम्नकै लागि भारत पुगेका हुन रवि लामिछाने, के छ ६ दिनको कार्यक्रम ?

मन्दिर घुम्नकै लागि भारत पुगेका हुन रवि लामिछाने, के छ ६ दिनको कार्यक्रम ?

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेको केही घण्टामै रास्वपाका सभापति रवि लामिछाने पनि मुम्वई पुगेपछि विभिन्न कोणबाट चासो ब्यक्त भईरहेका छन् ।

२०७९ पुस ११ गते दाहाल नेतृत्वकै सरकारमा उपप्रधान तथा गृहमन्त्री भएका रविले नागरिकता विवादका कारण सबै पद गुमाएका थिए। त्यसपछि नागरिकता पुनः प्राप्ति, उपचुनाव तथा राहदानी प्रकरण मुद्दा नचलाउने निर्णय देखि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेसम्मका प्रकरणमा लामिछाने र दाहालको सम्वन्ध वाक्लो छ।

लामिछाने वैशाख १० को उपनिर्वाचन जितेर फेरि सांसद भएका छन्। उपनिर्वाचन जित्नुअघि र जितेपछि दाहाल र लामिछानेको पटक–पटकको भेटघाट रहस्यमय र गोप्य हुने गरेको छ। त्यसैले प्रधानमन्त्री भारत भ्रमणमा निस्केकै दिन रवि पनि भारत पुग्नुलाई संयोग मात्रै मानिएको छैन।

तर, पार्टीका नेताहरुले भने लामिछानेको ब्यक्तिगत भ्रमण रहेको र प्रधानमन्त्री दिल्ली जाने कुरासँग कुनै सम्बन्ध नभएको दावी गरेका छन्। रास्वपा सहमहामन्त्री बुर्लाकोटीका अनुसार उनको भारत बसाइ कम्तीमा ६ दिनको हुनेछ ।

रविसँगै उनकी पत्नी निकिता पौडेल पनि भारत भ्रमणमा रहेको र उनको भारत वसाई धार्मीक भ्रमणका लागि भएको वताईएको छ। उनले पार्टी संसदीय जिम्मेवारीसमेत काठमाडौं ८ बाट निर्वाचित सांसद विराजभक्त श्रेष्ठलाई दिएका छन्। रविको भ्रमणका विषयमा रास्वपाले औपचारिक जानकारी सार्वजनिक गरेको छैन । 

यता, रविले जेठको पहिलो साता भारतका कट्टर हिन्दूवादी नेतालाई काठमाडौंमा भेटेका थिए । विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग भेट गरेका थिए। यो भेटलाई पनि निकै दिनसम्म गोप्य राखिएको थियो।

यसरी गोप्य रुपमा गतिविधि गर्दै आएका लामिछाने प्रधानमन्त्री दाहाल भारत पुगेकै दिन उतै पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। 

विशेष