प्रचण्डको खुलासाः सभामुखले मलाई अपमानित गरे
सदनमा म एक्लो छु, वन मेन आर्मी जस्तो हुनुपरेको छ
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सभामुखले आफुमाथि अपमान गरेको खुलासा गरेका छन्। बुधबार बिहान माओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टिमसँग उनले यस्तो खुलासा गरेका हुन।
भारत भ्रमणबाट फर्केपछि त्यसको वारेमा संसदलाई जानकारी दिने क्रममा तलबाट होहल्ला भएको र ‘हरेक कुराको जवाफ दिन्छु’ भन्दाभन्दै पनि तलका मान्छेलाई बोल्न दिएर आफुलाई अपमानित गरेको उनले वताए । ‘म बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा स्वभाविक हो’ उनले भने–‘तर, बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको उनले बताए।
त्यो घट्नाले सांस्कृतिक मान्यता, नैतिकता केही रहेनछ भन्ने छ्याङ्गै देखिएको भन्दै उनले ‘सबै कुरा भन्दै गर्दा पनि संसद्मा अपमानित हुनुप¥यो। सबै कुरा भन्दै गर्दा लास्टसम्म पुग्दा हालत खराब भयो’ भने।
प्रधानमन्त्रीले बोलेपछि तुरुन्तै प्रतिपक्षले बोल्न उनीहरूले नै हुन्न भन्ने गरेकोमा अहिले मिल्दै नमिल्ने कुरा जबर्जस्ती गरेको पनि उनले बताए।
पछिल्लो ६ महिनामा सरकारले सुरुदेखि जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने, बेथिति रोक्नेदेखि हालै भएको भारत भ्रमणमा विभिन्न पहल गरेको दाबी गरेका दाहालले त्यसलाई जनतासम्म निकै ठूलो अप्ठ्यारो र घेराबन्दी भएको गुनासो गरे।
सदनमा आफू एक्लो भएको भन्दै उनले थपे–‘जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेका छन्। ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको मूल्य मान्यता ध्वस्त पारेर– म मञ्चमा बोलिराखेको छु, हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु, बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट।’