News

एम्बाप्पे पीएसजी छोडेर अब कहाँ जालान् ?

एम्बाप्पे पीएसजी छोडेर अब कहाँ जालान् ?

किलियान एम्बाप्पेले सन् २०२४ उता आफूले प्यारिस साँ–जेर्मा (पीएसजी)सँग करार नवीकरण नगर्ने तर आफूले अर्को ’सीजन’ भने सोही क्लबबाट खेल्न चाहेको बताएका छन्।

एम्बाप्पेले करार नवीकरण गरेनन् भने फ्रान्सको घरेलु लीग विजेता पीएसजीले उनलाई ‘फ्री टान्स्फर’ मा गुमाउने जोखिम छ। त्यसो भएको खण्डमा पीएसजीले सन् २०१७ मा उनको लागि तिरेकोभन्दा झन्डै १८ करोड युरो कम रकममा उनलाई गुमाउनुपर्ने जोखिम हुने छ।

के पीएसजीले उनीबाट यो गर्मी याममा आर्थिक लाभ लिन खोज्ला त? उसले त्यसो ग¥यो भने त्यसको प्रशंसा नै हुने छ। तर उनलाई ठूलो रकम तिरेर लिने सामर्थ्य थोरै क्लबहरूसँग मात्र छ।

एम्बाप्पे अहिले २४ वर्षका भए। छ वर्षअघि मोनाकोबाट पीएसजी सरेपछि उनले कुल २६० खेलमा २१२ गोल गरेका छन् भने ९८ पटक गोल गर्ने अवसर बनाइदिएका छन्। सुरुमा पीएसजीले उनलाई मोनाकोसँग सापट लिएको थियो। यो अवधिमा उनले पाँच पटक लीगको उपाधि जितेका छन्, उक्त क्लबबाट जितेका १३ वटा घरेलु उपाधि सहित।

उनले सन् २०१८ मा फ्रान्सले विश्वकप फुटबल जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कुल ६८ वटा अन्तर्राष्ट्रिय खेलमा उनले ३८ गोल गर्दै उनी फ्रान्सका सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौँ स्थानमा छन्। सर्वाधिक गोल गर्ने ओलिभिएर जिरूभन्दा उनी १५ गोल पछाडि छन्।

गत डिसेम्बर महिनामा एम्बाप्पेले विश्वकप फुटबलको फाइनलमा ह्याट्रिक गरेका थिए। सन् १९६६ पछि विश्वकप फाइनलमा पहिलो पटक ह्याट्रिक भएको हो। तर खेलको नतिजा पेनाल्टीबाट आउँदा फ्रान्स आर्जेन्टिनासँग पराजित हुन पुग्यो।

अहिले निकै सफल देखिएका र सर्वत्र प्रशंसा पाइरहेका बेला एम्बाप्पेसँग कस्ता विकल्पहरू छन् त?

गत वर्ष मात्रै एम्बाप्पले रेआल मड्रिडसँग सम्झौता गर्नै लागेको सङ्केत देखिएको थियो। स्पेनको उक्त क्लबले एम्बाप्पेको लामो समयदेखि प्रशंसा गर्दै आएको छ। जुन महिनामा पीएसजीसँग करार सकिनुअघि आफ्नो भविष्यबारे विचार गर्ने क्रममा उनी रेआल र पीएसजी दुवैसँग एउटा आर्थिक प्याकेजमा सहमत भएका थिए।

सहमतिमा हस्ताक्षर गर्ने बेलामा रेआल उनलाई १५ करोड युरो शुल्क र चार करोड युरो पारिश्रमिक दिन तयार भएको थियो। तर पीएसजीसँग आकर्षक सम्झौता गरेर एम्बाप्पे सोही क्लबमा बसे। यद्यपि उनले रेआलका लागि खेल्ने आफ्नो धोको पूरा हुन बाँकी भएको बताएका थिए।

फ्रान्सेली खेलाडी तथा ’ब्यालोन डोर’ विजेता करिम बेन्जमा क्लब छोडेर साउदी अरब गएपछि रेआललाई स्ट्राइकरको खाँचो छ। टोट्नमका ह्यारी केनलाई उक्त क्लबले सर्वाधिक रुचाएको ठानिन्छ।

के यो वर्ष रेआलले खेलाडी पाउला त?
कार्लो एन्चेलोटीको क्लबले यो गर्मी याममा एउटा सहमति गर्दै इङ्ग्ल्यान्डका मिडफील्डर जूड बेलिङ्गमलाई १०.३ करोड युरो दिएर भित्र्याइसकेको छ। अब उक्त क्लब अर्का खेलाडीलाई पनि भित्र्याउन लालायित बनेको हुनसक्छ।

म्यान्चेस्टर यूनाइटेड
म्यानचेस्टर यूनाइटेड कुनै चामत्कारिक खेलाडीको पर्खाइमा रहेको अर्को युरोपेली क्लब हो। अन्यत्रबाट खेलाडी ट्रान्स्फर गरेर ल्याउनका लागि आर्थिक भार वहन गर्न सक्षम थोरै प्रेमिअर लीग क्लबमध्ये यो क्लब पनि पर्छ।

उक्त क्लब भविष्यमा कसको स्वामित्वमा हुन्छ भन्ने अन्योल छ। तर शेख जसिम बिन हमाद अल थानी र उनीसँग प्रतिस्पर्धा गर्न तम्सिएका सर जिम -याट्क्लिफ दुवै जना ग्लेजर परिवारले गर्ने निर्णयको पर्खाइमा छन्।

क्लबका प्रबन्धक एरिक टेन हागले नौ नम्बरको जर्सी लगाएर खेल्ने खेलाडी खोज्ने कुरालाई आफ्नो उच्च प्राथमिकता बनाएका छन्। इङ्ग्ल्यान्डका कप्तान केन उनका लागि विकल्प हुन्। तर त्यसका लागि टोट्नम हटस्पर्सका अध्यक्ष ड्यान्यल लेभीले घरेलु लीगमा आफ्नो प्रतिद्वन्द्वी रहेको म्यान्चेस्टर यूनाइटेडलाई खेलाडी बेच्न तयार हुनुपर्छ।

एम्बाप्पेको घोषणापछि उत्पन्न परिस्थितिमा म्यान्चेस्टर यूनाइटेड उनलाई भित्र्याउन इच्छुक बन्न सक्छ। अनि क्लबको स्वामित्व फेरियो भने सुरुमै एउटा प्रभावशाली निर्णय गर्ने अवसर आउन सक्छ।

साउदी अरब
पोर्चुगलका प्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी प्रो लीगमा खेल्छन्। रेआलमा पहिला उनीसँगै खेलेका करिम बेन्जमा पनि साउदी अरब नै पुगेका छन्। के एम्बाप्पे पनि उनीहरूसँगै खेल्न साउदी अरब जान इच्छुक होलान् त?

साउदी अरबका चारवटा ठूला क्लबलाई देशको पब्लिक इन्भेस्टमन्ट फन्डले आफ्नो स्वामित्वमा लिएको छ। उक्त फन्डको स्वामित्वमा न्यूकाशल यूनाइटेड र एलआईभी गल्फ पनि छन्।

रोनाल्डो अल–नासर जाँदा उनी सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका थिए। फोर्ब्स म्यागजीनका अनुसार मे महिनामा उनको वार्षिक आय १३.६ करोड डलर थियो।

साउदी अरबको क्लब अल–हिलालले आर्जेन्टिनाका लिओनेल मेस्सीलाई भित्र्याउने प्रयास गरेको थियो। तर विफल भयो।

एम्बाप्पेजस्ता अर्का कुशल खेलाडीले अर्को आकर्षक प्रस्ताव पाए भने अचम्म नमाने हुन्छ।

टड बोलीको स्वामित्वमा गएपछि चेल्सीमा पहिलो वर्ष केही परिवर्तन भयो। दुइटा ‘ट्रान्सफर विन्डो’मा उनले ५५ करोड पाउन्ड खर्च गरे।

तर यो वर्ष उक्त क्लब त्यति आक्रामक नबन्न सक्छ। उसले ठूलो टोलीलाई छाँटकाँट गर्न खोजिरहेको छ। उसले प्रेमिअर लीगका विभिन्न नियम परिपालना गरेको सुनिश्चित पनि गर्नुपर्ने छ।

तर आफूले गरेका दीर्घकालीन करारका कारण चेल्सीले कालान्तरमा प्रत्येक खेलाडीका लागि शुल्क बढाउन सक्छन्। चेल्सीले एन्जो फर्नान्डेजसँग १२.१ करोड युरो (१०.७ करोड पाउन्ड) र मिखाइलो मुड्रिकसँग ८.९ करोड पाउन्डमा साढे आठ वर्षका लागि करार गरेको छ।

क्लबमा अहिले भएका खेलाडीको संख्या घटाउन सके चेल्सीले फेरि नयाँ खेलाडी भित्र्याउन बजारमा खोजी सुरु गर्न सक्छ। यसपालि ईपीएलमा बाह्रौँ स्थानमा रहेको चेल्सी आफ्नो अवस्था सुधार गर्न चाहन्छ।

सन् २०२० मा एम्बाप्पेले स्पष्ट शब्दमा लिभरपुलको प्रशंसा गरेका थिए। लिभरपुलले प्रेमिअर लीगको उपाधि हात पार्दा त्यतिबेला उनले युर्गेन क्लोपलाई ‘निकै राम्रो प्रबन्धक’ र लिभरपुलाई ‘मशीन’ को सङ्ज्ञा दिएका थिए।

लिभरपुल र एम्बाप्पेको नाम पहिला पनि जोडिएको थियो। तर क्लोपले एम्बाप्पेलाई दिनुपर्ने शुल्क आफ्नो क्लबको बुताभन्दा पर रहेको प्रतिक्रिया दिएका थिए। बच्चाले क्रिस्मसमा फेरारी उपहार मागे जस्तो भन्दै यो वर्षको सुरुतिर बेलिङ्गम ल्याउने चर्चा चल्दा पनि उनले त्यस्तै टिप्पणी गरेका थिए।

लिभरपुलका मालिक जोन हेनरीले क्लबका लागि केही लगानी हुन सक्ने आफ्नो अपेक्षा भएको बताएका छन्। लिभरपुलले प्रेमिअर लीग विजेता म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

आफूले गरेको लगानीको भाग नउठेसम्म पीएसजी एम्बाप्पेलाई नगुमाउने पक्षमा छ। मोलतोलको लडाइँमा नपरीकन एम्बाप्पेलाई भित्र्याएर के लिभरपुरले बाजी मार्ने अवसर पाउला त?
यो सामग्री बीबीसीबाट साभार गरिएको हो।

विशेष