News राजनीति

१ भोटले कोशीमा सरकार ढल्ने भएपछि मधेशमा एमालेका २३ सांसद सल्याकसुलुक

मधेशमा २३ भोट दिएर कोशीमा एक भोटका लागि बार्गेनिङ

१ भोटले कोशीमा सरकार ढल्ने भएपछि मधेशमा एमालेका २३ सांसद सल्याकसुलुक

राष्ट्रपति निर्वाचनमा संघीय गठबन्धन भत्किएपछि संकटमा परेको मधेश सरकारलाई नेकपा एमालेले सकुशल उद्वार गरेको छ। बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत लिँदा एमालेका २३ सहित १०३ सांसदले विश्वासको मत दिएका छन्। विपक्षमा शून्य मत परेको छ। 

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट धोका पाएपछि एमालेले गठवन्धन छोडेको थियो। त्यसको असर मधेस प्रदेशमा पनि पर्यो। एमालेका मन्त्रीहरुले चैत २१ गते प्रदेश सरकारबाट राजिनामा दिए भने जेठ १ गते सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो।

एमालेकै कारण मधेश प्रदेशका मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो। तर, फेरि एमालेले विश्वासको मत दिएको छ।  यो कदमलाई एमालेले अस्थिरता रोक्ने प्रयास भनेको छ। 

राजनीतिक विश्लेषकहरु भने मधेशमा समर्थन दिएर कोशीको सरकार जोगाउन एमालेले खेल खेलेको वताउँछन्। अव एमालेको विश्वासलाई मुख्यमन्त्री र जसपाका अध्यक्ष उपेन्द्र यादवले कुन अर्थमा लिन्छन् त्यसमा कोशी सरकारको भविष्य टिकेको छ।

०७९ पुस १० गते माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउँदा एमालेले चार प्रदेशको नेतृत्व पाएको थियो। केन्द्रको गठबन्धन फेरबदल हुँदा सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व गुमाए पनि कोसी प्रदेश अझै एमालेकै नेतृत्वमा नै छ। तर, जेठ २३ गते माओवादी केन्द्रले सरकारका मन्त्री फिर्ता बोलाएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा छ। 

९३ सदस्यीय प्रदेश सभामा सरकारलाई एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ गरी ४६ सांसदको साथ छ। अर्कोतर्फ गठन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन्। जसपाका एक सांसदले साथ दिए एमालेले सत्ता जोगाउन सक्ने छ। उसको पक्षमा बहुमत अर्थात् ४७ सांसद पुग्ने छन्। 

जसपाकै आसमा कोशी प्रदेश सरकारले चालू दोश्रो तथा बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पास नहुने अवस्था देखिएपछि सरकारले नीति तथा कार्यक्रममा छलफल नै नगरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो । मुख्यमन्त्री कार्कीले असार १ गते अध्यादेशबाट बजेट ल्याउनेछन् ।

यता, प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै आएको जसपा नाम फेर्नुपर्ने पक्षमा छ। एमालेले सद्भाव देखाए पनि केन्द्रीय सत्ता समीकरण पनि फेरबदल हुने भएकाले जसपा एमालेलाई समर्थन गर्ने पक्षमा देखिँदैन।

मधेश सरकार हिक्मत कार्की सरोजकुमार यादव कोशी सरकार

विशेष