पक्राउ परे वल्छी धुर्वे र राजु मास्टर, हुन सक्छ तीन महिना कैद
प्रहरीले चर्चित हाँस्य कलाकार वल्छी धुर्वे (मरिचमान श्रेष्ठ) र राजु मास्टर (राजु पौडेल) लगायत ८ जनालाई पक्राउ गरेको छ। अनलाई बेटिङ प्लेटफर्मको प्रचार गरेको आरोपमा उनीहरुलाई वुधवार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली पनि छन् । प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई पक्राउ गरेर बुधवार नै सार्वजनिक गरेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो । यसैक्रममा कलाकारहरु पनि पक्राउ परेका हुन।
नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना छ। त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार पक्राउ परेकाहरुमाथि युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप छ।
वल्छी धुर्वे राजु मास्टर