News

खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

खाण, रायमाझी र पाण्डसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा  पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत, काठमाडौंले शुक्रवार यस्तो आदेश दिएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि १६ जनालाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।

लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश भएको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

अनुसन्धानका क्रममा पक्राउ परेका १८ जना अहिले हिरासतमा छन्। यो कसुरमा अरू १२ जना फरार छन् । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।

०७९ चैत १२ गते केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि वढाएको थियो। त्यसक्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परे।

रायमाझी, खाण, पाण्डे, राई र रिजालसहित गिरोहका नाइके दुलाल, भण्डारी‚ गुरुङ‚ कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका नरेन्द्र केसी र गोविन्द चौधरी अनुसन्धानकै क्रममा पक्राउ परेका थिए ।

प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि प्रतिवादीमध्येका थप २ जना लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए । महर्जनद्वय दम्पती हुन् । पक्राउ परेका १६ र थप १७ जनालाई फरार सूचीमा राखेर जेठ ८ गते राज्यविरुद्ध अपराधसहितका ३ कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई वुझाईएको थियो।

सरकारी वकिलले जेठ १० गते किर्तेसहित थपेर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो । यो प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्री केपी ओलीका सल्लाहकार, कांग्रेस सभापति शेरवबहादुर देउवाकी पत्नि आरजु राणा, बालकृष्ण खाणकी पत्नि मन्जु लगायतलाई भने वयानमै नवोलाई उन्मुक्ति दिईएको छ।

यो प्रकरणमा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसहितका सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।

भुटानी शरणार्थी

विशेष