News

प्रचण्डका विद्यार्थीको बालेन्द्रलाई धम्कीः तिमीले ठूलो मूल्य चुकाउनुपर्छ

प्रचण्डका विद्यार्थीको बालेन्द्रलाई धम्कीः तिमीले ठूलो मूल्य चुकाउनुपर्छ

सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो संगठनले विद्यालयहरूमा लगाएको ताला खोलेकोप्रति आक्रोश ब्यक्त गरेको छ। क्रान्तिकारीले बालेन्द्र विरुद्ध संघर्षका लागि आन्दोनलका कार्यक्रम समेत सार्वजनिक गरेको छ।

शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको आरोप क्रान्तिकारीले लगाएको छ।

संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेन्द्रले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए। ‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’

गरिब, जेहेन्दार र अल्पसंख्यकहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्दा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था भएकाले त्यस विरुद्ध कोही पनि जानु घातक हुने चेतावनी उनले दिए । 

संगठन काठमाडौं जिल्ला समिति इन्चार्ज यादव ढुङ्गानाले काठमाडौंभित्रका विद्यालयहरूले दिने १० प्रतिशत छात्रवृत्तिको नामावली प्रकाशित गर्ने मागलाई बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको धारणा राखे।

आन्दोलनलाई बेवास्ता गरेको बताउँदै उनले भने, ‘संगठनलाई वार्तामा नबोलाई बालेन्द्रले महानगर पुलिस लगाएर ताला फोडे। अब यसको परिणाम भयानक हुन्छ। गरिब र जेहेन्दार विद्यार्थीहरूलाई दिइने छात्रवृत्ति पारदर्शी हुनुपर्छ भन्दा बीचमा मेयरसाब आउनुहुन्छ, के अब हामीसँग निहुँ खोज्नु नै भएको हो त?’

विशेष