News विदेश

युगाण्डाको एक विद्यालयमा आक्रमण गरी २५ विद्यार्थीसहित ४१ जनाको हत्या

युगाण्डाको एक विद्यालयमा आक्रमण गरी २५ विद्यार्थीसहित ४१ जनाको हत्या

युगाण्डाको एक विद्यालयमा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले गरेको आक्रमणमा परी ४१ जना भन्दा वढिको मृत्यु भएको छ। शनिवार भएको यो आक्रमणमा अधिकांश विद्यार्थी मारिएका छन्।

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो नजिकैको कासेस जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा राति सीमापारीबाट आएका लडाकुले आक्रमण गरेको जनाईएको छ। त्यो समुहलाई युगाण्डाको सेना र प्रहरीले पछ्याईरहेको छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अनुशन्धानकर्ताहरुले बताएका छन्।

युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ।’

आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कङ्गोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन्। यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ।

कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ। सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो। 

विशेष