News अपराध सुरक्षा

बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा कस्ले पुर्यो मानव कंकाल ?

बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा कस्ले पुर्यो मानव कंकाल ?

धादिङको बञ्चरेडाँडा स्थित ल्यान्डफिल साइटमा मानव कंकालको बाकस नै भेटिएको छ। स्थानीयवासीले काठमाडौंबाट फोहोरको गाडीमा ल्याएर उक्त मानव कंकाल ल्यान्डफिल साइटमा पुरिएको दावी गरेका छन्।

करिब १० दिनअघि फोहोरमैलामा काम गर्नेहरूले सेतो कपडाले बेरेर प्याकिङ गरिएका चार÷पाँचवटा बाकसमा मानव कंकालजस्तो वस्तु भेटेका थिए । उनीहरुले यस विषयमा स्थानीयलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

स्थानीयले धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकालाई घटनाबारे अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन् । फोहोरमा मानिसको टाउको, आँखा र मरेको गाई आएको उनीहरुले वताएका छन्।

स्थानीयले खबर गरेपछि ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ ल्यान्डफिल साइटमा अनुगमनका लागि पुगेका थिए । उनले पनि त्यसलाई मानव कंकालनै भएको अनुमान गरेका छन्। स्थानीयका अनुसार ति कंकाल अस्पतालबाट आएको हुन सक्ने अनुमान गरिएको छ।

बञ्चरेडाँडाका स्थानीयले फोहोरमा सालनालसहितको बच्चा, मरेका पशुपक्षीलगायतका वस्तुहरू आउने गरेको गुनासो गरेका छन्। फोहोरमैला व्यवस्थापनका नाममा वन्चरेडाँडालाई मान्छे गाड्ने चिहान बनाउन लागेको भन्दै उनीहरुलाई आपत्ति जनाए।

ककनी गाउँपालिका र धुनिबेँसी नगरपालिकाले घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयलाई भनेका छन् । ककनी गाउँपालिकाले काठमाडौं महानगरलाई नै पत्र पठाएर त्यस वारेमा कुरा गर्ने तयारी गरेको छ।

काठमाडौं महानगरपालिका भने अस्पतालको फोहोर भएमा तत्कालै फिर्ता पठाउने गरिएको दाबी गरेको छ। यदि मानिसको कंकाल वा मरेको मान्छे फोहोरमा हालेर पठाएको पाइएमा कारबाही गर्ने महानगरले जनाएको छ।

विशेष