समाजवादी मोर्चाः स्वार्थका दुना बोकेर नेपाली विशेषताको समाजवादको ढोङ
संसदीय राजनीतिका आलोचक विप्लवको यस्तो छ स्वार्थ
लामो तयारीपछि अन्ततः नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागेका छन्। आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहितको १५ बुँदे प्रतिवद्धता तय गरेको छ ।
माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नाममा सहकार्य गर्न लागेका हुन्। मोर्चाले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नुलाई प्रमुख उद्देश्य भनेको छ। त्यस उद्देश्य प्राप्तिका लागि आफ्ना वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरूलाई १५ वटा बुँदा समेटेको छ ।
तर, मोर्चा गठन गर्नुमा भने नेताहरुका सवैका आ–आफ्नै स्वार्थ छन्। सवै नेताहरु स्वार्थका दुना वोकेर मोर्चामा सहभागी भई वैतर्णी तर्ने ध्याउन्नमा देखिन्छन्।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संसदीय मोर्चा बनाएर सत्ता बार्गेनिङ पावर बढाउन चाहन्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार भने झै उनको उदेश्य भनेको मोर्चाको संख्या देखाएर सत्ता साझेदार नेपाली कांग्रेसलाई गलाउनु हो। अर्को तर्फ उनी यही संख्याका आधारमा एमालेसँग भिड्न चाहान्छन्।
आफूभन्दा ठुला शक्ति एमाले र कांग्रेसलाई पछि पार्दै प्रधानमन्त्री बनेका दाहालले अव ५४ सिट सामर्थ्यको मोर्चा संसदमा देखाउने छन्। कांग्रेससँगको आलोपालो लम्ब्याउनसमेत यो संख्याले काम गर्ने अनुमान दाहालले लगाएको हुन सक्ने जानकारहर वताउँछन्।
कांग्रेसको मुड फेरिनासाथ नेकपा एस र जसपालाई पनि कुनै दलले फकाउन सक्ने भएकाले सरकार धरापमा पर्ने डरले मोर्चा वनाएर उनी सुरक्षित हुन चाहेको राजनीतिक विश्लेषकहरु वताउँछन्। आउँदो निर्वाचनसम्म मोर्चालाई प्रयोग गर्ने रणनीतिमा दाहाल छन्।
०८४ को निर्वाचनमा कांग्रेसले चुनावी गठबन्धन गर्ने सम्भावना घट्दै गएको र आफनो पार्टीको जनाधार कमजोर हुँदै गएको वुझेका दाहालले एमालेसँग बार्गेनिङ गर्न वा युवा लहरसहित आएका नयाँ पार्टीसँग भिड्न पनि समाजवादी मोर्चालाई उपयोग गर्ने रणनीति बनाएको बुझ्न सकिन्छ ।
यता, नेकपा एमालेबाट चोईटिएर नयाँ पार्टी बनाएका नेता माधवकुमार नेपाल अहिले सत्ता गठवन्धनमा सवैभन्दा अप्ठेरोमा छन। चुनावमा पार्टीले जस्तो आकार लिने अपेक्षा गरिएको थियो, त्यो नभएपछि नेपालको पार्टी नेकपा एसले थ्रेसहोल्ड समेत कटाउन सकेन । त्यसैले पार्टीमा चरम निराशा छ ।
सो पार्टीका नेता÷कार्यकर्ताहरू पूर्वपार्टी एमालेमा फर्किने तयारीमा छन्। यो प्रवृत्तिले नेकपा एस अहिले अस्तित्व रक्षामा देखिन्छ । यो गति कायम रहे आउँदो निर्वाचनसम्म नेकपा एस चुनाव जित्ने हैसियतमा रहँदैन भन्ने निष्कर्षमा सो पार्टीको केन्द्रीय नेतृत्व पुगिसकेको छ । मोर्चाको अभ्यास सफल भए कार्यगत एकता वा पार्टी एकतासमेत गर्ने तयारीमा नेपाल छन्।
मधेश प्रदेशको नेतृत्व गरेको जसपा पाँचै वर्ष प्रादेशीक सरकारको नेतृत्व र केन्द्र सरकारमा भागिदारी चाहान्छ। केन्द्रीय राजनीतिले बेलाबेला प्रदेश सरकार हल्लाइरहन्छ । यस्तोमा माओवादी केन्द्र र नेकपा एससँग मोर्चा बनाएर मधेश सरकारलाई स्थिर राख्ने दाउनमा उपेन्द्र यादव छन्।
उपेन्द्र यादव स्वार्थका लागि जस्तोसुकै निर्णय लिन सक्छन् भन्ने नजिर वनिसकेको छ। एमालेका कटु आलोचक उनले एमालेसँग मिलेर चुनाव लडे। तर, आफै हारे। उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुँदासमेत जित्न उनलाई हम्मेहम्मे पर्यो। यो चुनौती आउँदो चुनावसम्म बढ्ने बुझेर यादव अहिले देखि नै सुरक्षित हुन खोजेको देखिन्छ।
अर्कोतर्फ संसदीय राजनीतिको चर्को आलोचना गर्ने नेत्र विक्रम चन्द ‘विप्लव’ अन्तत सोही खेलमा आईपुगेका छन्। उनको प्रमुख उदेश्य संसदीय राजनीतिमा सामेल हुनु र कसैगरी माओवादी केन्द्रसँग पार्टी एकिकरण गर्नु हो। दाहालभन्दा क्रान्तिकारी देखिन नयाँ पार्टी वनाएका उनी पार्टीले प्रगति गर्न नसकेपछि अन्ततः दाहालसँगै नजिक भईरहेका छन्।
मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्काल सहभागी नहुने भएको छ। जसपा अध्यक्ष यादवले भट्टराई सहभागि हुने भए आफु मोर्चामा नरहने अडान राखेपछि उनको पार्टीलाई बाइपास गएको वताईन्छ।
समाजवादी मोर्चा