बाढी र पहिरोमा परी एकै परिवारका ४ सहित ११ जना बेपत्ता

वाढी र पहिरोमा परेर ताप्लेजुङ र पाँचथरमा ११ जना वेपत्ता भएका छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएरातिको पहिरोमा पुरिएर यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका छन्।
सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका पाँचै जनाको खोजीकार्य जारी छ ।
यसैगरी, पाँचथरेको फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै हेवा खोलामा आएको वाढिमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।
त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएका छन्।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।