News

नेपाल १९०३ सम्म भारतकै हिस्सा रहेको ‘आदिपुरुष’ का लेखकको यस्तो तर्क!

नेपाल १९०३ सम्म भारतकै हिस्सा रहेको ‘आदिपुरुष’ का लेखकको यस्तो तर्क!

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्तशिरले सन् १९०४ अघिसम्म नेपाल भारतकै हिस्सा रहेको दावी गरेका छन्। एक भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै मुन्तशिरले नेपाल सन १९०४ अर्थात विसं १९६१ सम्म भारत अधिनस्थ रहेको वताए।

नेपालमा विरोध भईरहेको ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादको विषयमा प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा भइरहेको विरोधलाई अफुले वुझ्न नसकेको वताए। ‘यो जतिबेलाको कहानी हो, त्यतिबेला त नेपाल भारतको एक अंश थियो। यदि हामीले सीतालाई भारतको छोरी भनिरहेका छौं भने नेपाल त्यतिबेला कहाँ भारतबाट अलग थियो?’ उनले भनेका छन्–‘नेपाल त १९०३ वा १९०४ मा भारतबाट अलग भएको थियो। भारत नै थियो नेपाल।’

नेपाल र भारतलाई आफूले अलग नमानेको वताएका उनले फिल्मको कथामा देखाइएको समयमा नेपाल भारतकै हिस्सा भएको दावी गरे। नेपालीहरूले आफुसँग कुरा गरे उनीहरुलाई सम्झाउन सक्ने वताएका उनले देश र भुगोलका रूपमा नेपाल अलग भए पनि राष्ट्रको हिसाबमा भारत र नेपाल एकै भएको दावी गरे। 

फिल्ममा भएको ‘सीता भारतीय छोरी’ भन्ने संवादका कारण नेपालको सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति दिन रोकेको थियो। तर पछि उक्त संवाद म्युट गरिएपछि सेन्सर बोर्डले प्रदर्शनको लागि प्रमाणपत्र दिएको हो।

यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पनि उक्त संवाद फिल्मको मूल अंशबाट हटाउन माग गरेका थिए। उनले तीन दिनको समय दिँदै त्यसो नभएमा काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए।

सोही विषयमा उनले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै उक्त संवाद सच्याउनका लागि भारतसँग अनुरोध गर्नका लागि आग्रह गरेका थिए।

यता, लेखक मुन्तशिरको अभिब्यक्तिपछि नेपालको राजनीतिक माहौल थप गरम हुने देखिएको छ। उनको अभिब्यक्तिको विरोध सुरु भएको छ। नेकपा एमालेका नेता भीम रावलले सामाजिक सञ्चालमै यसको विरोध गरेका छन्।

उनले लेखेका छन्– ‘भारतीय चलचित्र ’आदिपुरूष’ ले रामायणको खिल्ली उडाएको भन्दै दिल्ली अदालतमा समेत मुद्धा दायर। चलचित्रका संवाद लेखक मनोज मुंतशिरले असार २ गते दिउँसो भारतीय टीभी आजतकमा नेपाल सन् १९०३ सम्म भारत नै थियो र अहिले पनि अलग ठान्दिन भनेका छन् ।यस्तो दुष्टतापूर्ण भनाईको घोर भर्तसना गरौं ।’

आदिपुरुष

विशेष