जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक, ओपनिङमा किर्तिमानी साझेदारी
आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका नेपालका आसिफ शेखले जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।
नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले ११५ रनको साझेदारी गर्दै ओपनिङमा नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन् ।
उनीहरुले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमान विरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।
उनीहरुको कीर्तिमानी साझेदारीसँगै २६ ओभरको खेल सकिँदा नेपालले विना क्षती १२५ रन बनाएको छ ।