कुशल भुर्तेललाई १ रनको धोकाः दोस्रो किर्तिमानी शतक बनाउने अवसर गुम्यो

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटमा नेपालका दुई खेलाडीले अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी खेलेका छन। नेपालले अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी १३९ रनको थियो।
त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले बनाएको उक्त साझेदारी जिम्बावेविरुद्धको खेलमा कुशल भुर्तेल र आसिफ शेखले तोडेका छन्। आज उनीहरुले १७१ रनको साझेदारी गरेका छन्।
ओपनर कुशल भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रन बनाए। उनी कीर्तीमानी शतक बनाउन १ रनले चुके । कुशल विलिटन मासाकादजाको बलमा बोल्ड भए। यस्तै, आसिफ शेख सय बलमा ६६ रन बनाएर आउट भए । आसिफ पनि मासाकादजाकै बलमा क्याच आउट भए ।
योसँगै भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने मौकाबाट चुकेका छन् । कुशलले यसअघि फेब्रुअरी १४ मा नामिबियाविरुद्ध विश्वकप लिग २ मा यसअघि १ सय १५ रन बनाएका थिए ।
पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख र कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । कुशलले १ रनमै जीवनदान पाएका थिए । चौथो ओभरमा रिचर्ड नगराभाको बलमा पहिलो स्लिपमा सिकन्दर राजाले क्याच छाडेका थिए । त्यसपछिको अर्को ओभरमा कुशलले टेन्डेइ चतारालाई दुई चौका प्रहार गरे ।