News

नेविसंघ कार्यकर्ता र सरकार विरुद्ध उपप्राध्यापकको आमरण अनसन

नेविसंघ कार्यकर्ता र सरकार विरुद्ध उपप्राध्यापकको आमरण अनसन

नेविसंघ कार्यकर्ता र सरकार विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् ।

चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा उनले आमरण अनसन सुरु गरेका हुन। चलाउनेलाई कुटपिट गर्ने नेविसंघ कार्यकर्ता हरि आचार्य, योगेन्द्र रावल लगायतका विरुद्ध चलिरहेको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।

जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो। त्यो निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

०७७ असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

मंगलबारका लागि पेशी तोकिएको मुद्दा फिर्ता गर्ने निर्णयपछि उनी अदालतमा सत्याग्रह सुरू गर्ने भन्दै त्यहाँ पुगेका थिए। कांग्रेस नेता बालकृष्ण खाँण र कृष्णप्रसाद सिटौलाले अनेक प्रयत्न गर्दा पनि मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दालाई वर्तमान सरकारले सजिलै फिर्ता लिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

उनले देशको विधिको शासन र लोकतन्त्रमाथि नै प्रश्न उठाए। ‘अदालतलाई, यो बेन्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिँदैछ,’ उनले भने। 

राज्य नै अपराधीहरूले सञ्चालन गरिरहेको भन्दै उनले न्यायको माग गर्दै आमरण अनसन सुरू गरेका हुन।

प्रेम चलाउने

विशेष