के युवा अवस्थामै दोधारे थिए बाबुराम भट्टराई ? हरेक कुरामा विरोधाभास !
आजबाट ७० लागे बाबुराम भट्टराई, सम्झिए २४ वर्षको उमेरमा गरेका प्रतिबद्धता
आजवाट ७० वर्ष लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ४५ वर्षअघि (२०३५ वैशाख १ गते) आफैसँग गरेका बाचा स्मरण गरेका छन्। २४ वर्षको हुँदा गरेको लक्ष निर्धारणमा विवाह उनको प्राथमिक्तामा छैन।
७० वर्ष लागेको अवसरमा उनले त्यतिवेला लेखेको डायरीका दुई पन्ना सार्वजनिक गरेका छन्। जसमा स्वार्थन्धताको साँघुरो घेरामा बाँधिनबाट बच्न आफ्नो ‘परिवार’ नबनाउने उनले प्रण गरेका छन्। सबै मानिस आफ्नो निम्ति ‘आफन्त’ हुने घोषणा गरेका उनले त्यो मार्गबाट विचलित नगराई यसैमा लाग्न अरू प्रेरणा दिने कुनै स्त्री भेटिए विवाह पनि गर्ने जनाएका छन्।
विवाह नगर्ने लेखिसकेपछि थामिन नसकेझै गरी उनले सन्तानोत्पादनद्वारा मानवको वंश कायम गर्नु पनि मानिसको एउटा कर्तव्य हुने भएकाले घर, परिवार र सन्तान उत्पादन पनि गर्ने मनस्थिती बनाएका छन्।
उनले त्यतिवेला लेखेका अधिकांश कुरामा विरोधाभास छ। जसरी विवाह र सन्तान उत्पादनका विषयमा उनले ‘सके एक्लै वस्ने, नसके विवाह गर्ने’ खालको कुरा गरेका छन, अन्य विषयमा पनि उनको वाचा त्यस्तै छ। उनले ‘आदर्श मानव’ बनेर अरूलाई उदाहरण देखाउनु आफ्नो जीवनको मूल लक्ष्य हुने लेखेका छन्। तर, अधिकांश नागरिक अहिले उनलाई सकारात्म उदाहरण मान्न तयार छैनन्।
संसारमा शाश्वत ‘सत्य’ पत्ता लगाउन र ‘सत्य र न्याय’को स्थापना गर्न विश्व मात्रलाई कर्मक्षेत्र र मानव मात्रलाई सेवाको पात्र बनाए पनि ‘नेपाल’लाई यो कर्मक्षेत्रको एउटा ‘इकाई’ मानेर यसैको सीमाभित्र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने उनले लेखेका छन्। तर, उनीमाथि भारतपरस्त भएको आरोप लाग्छ, उनकी अर्धांगिनी हिसिला यमीले नै ‘नेपाललाई खारेज गर्नुपर्छ’सम्म भन्न भ्याईन। अरु कुनै नेपालीले अहिलेसम्म त्यस्तो हिम्मत गर्न सकेको छैन।
भट्टराईले सक्रिय राजनीतिमा सकभर नलाग्ने भनेका छन्। तर, आवश्यक परेमा नेतृत्व दिन पनि नहिचकिचाउने सँगै लेखेका छन्।
यस्तो छ उनको डायरीको २ पन्ना
‘‘जीवनको लक्ष्यः संसारमा शाश्वत ‘सत्य’ पत्ता लगाउन र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यस अनुसार विश्व मात्रलाई कर्मक्षेत्र र मानव मात्रलाई सेवाको पात्र बनाए पनि ‘नेपाल’लाई यो कर्मक्षेत्रको एउटा ‘इकाई’ मानेर यसैको सीमाभित्र ‘सत्य र न्याय’को स्थापना गर्न प्रयत्नशील रहने। यसको निम्ति विद्यमान सामाजिक, राजनैतिक मान्यतालाई नाश गरेर नयाँ मान्यताको प्रादुर्भाव गर्नुपर्ने अवश्यम्भावी छ। सामन्तवाद र त्यसको पृष्ठपोषक राजतन्त्र नेपालभित्रका ‘अन्याय’ र ‘असत्य आचरण’ को मूल कारण भएकाले यसको विनाश गरेर मानव मात्रमा समानता र न्याय कायम गर्ने व्यवस्था कायम गर्न आफ्नो अग्रिम भूमिका हुनेछ। यसको प्राप्तिको मार्ग हुनेछ ‘मार्क्सवाद’। आफ्नो भूमिका मुख्यतया क्रान्तिको निम्ति सैद्धान्तिक आधार तयार गर्नु र क्रान्ति पश्चात् देशलाई सैद्धान्तिक नेतृत्व दिनुमा केन्द्रित हुनेछ। सक्रिय राजनीतिमा सकभर नलागे पनि आवश्यक परेमा नेतृत्व दिन नहिचकिचाउने। अन्यथा आफ्नो जीवन एउटा मार्क्सवादी विद्वान, दार्शनिक, लेखक र समाजसेवीको रूपमा व्यतीत हुनेछ। व्यक्तिगत जीवन मानवको शक्तिले भ्याउनेसम्म आदर्शवादी हुनेछ। सच्चा मार्क्सवादीको रूपमा मानव मात्रका हितमा आफ्नो जीवन लगाउनेछु। स्वार्थन्धताको साँघुरो घेरामा बाँधिनबाट बच्न आफ्नो कुनै ‘परिवार’ कायम गर्नेछैन, सबै मानिस आफ्नो निम्ति ‘आफन्त’ हुनेछन् तर आफूलाई यो घोषित मार्गबाट विचलित नगराई यसैमा लाग्न अरू प्रेरणा दिने कुनै स्त्री भेटिए विवाह गरेर व्यक्तिगत जीवन चलाउन पनि हिचकिचाउने छैन। किनकी सन्तानोत्पादनद्वारा मानवको वंश कायम गर्नु पनि मानिसको एउटा कर्तव्य हुन्छ। परन्तु वासनाले आफूलाई वशमा पार्न कहिल्यै दिने छैन । निर्दिष्ट मार्गबाट बहकाउने कुनै कुरामा ध्यान दिने छैन। ‘आदर्श मानव’ बनेर अरूलाई उदाहरण देखाउनु आफ्नो जीवनको मूल लक्ष्य हुनेछ। तर यी सब मार्क्सवादसँग सहमत हुनेछन– किनकी यो नै एक मात्र वैज्ञानिक ‘वाद’ हो– यसलाई पनि सम्भव भए (आवश्यकता अनुसार) अरू प्रगतिशील बनाउने प्रयत्न भने हुनेछ। ‘धर्म’ र ‘ईश्वर’ जस्ता अन्धविश्वासमा कहिल्यै लाग्नेछैन। मानिसको विवेक र ज्ञान आफ्नो मुख्य हतियार हुनेछ। आफ्नो उद्देश्यको पूर्ति गर्न संघर्षरत हुन कहिल्यै डराउने छैन। मलाई आफ्नो शक्तिमा पूर्ण भरोसा छ र ज्ञान हासिल गर्न र आत्मानुशासनमा रहन कहिल्यै चुक्नेछैन।”