News बैंकिङ रोजगार

क्रसबोर्डर पेमेन्टका लागि समझदारीः क्यूआर कोड मार्फत कारोवार गर्न सकिने

क्रसबोर्डर पेमेन्टका लागि समझदारीः क्यूआर कोड मार्फत कारोवार गर्न सकिने

नेपाल र भारतबीच क्रसबोर्डर पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न सकिने भएको छ। यसअघि कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सुविधा थियो। 

नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको प्रणाली इन्ट्रिग्रेसन मार्फत नेपाल भारत क्रस बोर्डर विद्युतीय भुक्तानीको सुरु गर्ने सम्झौता भएको छ ।

नेसनल पेमेन्ट कर्पोरेशन इन्डियाका तर्फबाट नितेश शुक्ला र नेपालको तर्फबाट नेपाल क्लियरिङ प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सझमदारी पत्रमा हस्ताक्षर गरेका छन्। अब नेपालमा आउने भारतीय र भारतमा जाने नेपालीले अनलाइनबाटै रकम कारोबार गर्न सक्ने भएका छन्।

सम्झौतापछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने जनाईएको छ।

भारतमा यूपीआई प्रणालीमार्फत विद्युतीय कारोबार सेवा दिने गरी रिजर्भ बैंक अफ इण्डियाको समेत लगानीमा खुलेको संस्था एनपीसीआई हो । भारतमा सबै बैंकले डिजिटल बैंकिङ कारोबारमा भुक्तानी गर्दा एनपीसीआईको प्रणाली प्रयोग गर्छन् । नेपालमा पनि क्लियरिङ हाउसले नेसनल पेमेन्ट स्वीच सञ्चालन गरिरहेको छ ।

क्लियरिङ हाउसले सञ्चालन गरेको रिटेल पेमेन्ट स्वीचमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल भुक्तानी सुविधा लिन सकिन्छ । नेपाल क्लियरिङ हाउस र नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डीया (एनपीसीआई)को सिस्टम इन्ट्रिग्रेसनपछि दुई देशबीच यस्तो कारोबार सुरु हुनेछ ।

अहिले नेपालको पूँजी खाता दुवैतर्फ खुला गरिएको छैन । नेपालमा विदेशी लगानी ल्याउन खुला भएपनि नेपालबाट रकम लैजान प्रतिबन्ध छ । भारतमा भने नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रको रकम एटीएमबाट निकाल्न वा भुक्तानी गर्नसक्ने व्यवस्था छ ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न जारी गरेको एकीकृत निर्देशनअनुसार क्रेडिट कार्ड, डेबिट कार्ड र प्रिपेड कार्डबाट भारतमा भुक्तानी गर्न र नगद झिक्न सकिन्छ । त्यसको सीमा दैनिक १५ हजार र मासिक १ लाख भारु छ । 

क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौताले पर्यटक, विद्यार्थी सहित उपचारका लागि आउने÷जाने बिरामीलाई समेत भुक्तानीमा सहज हुने वताईएको छ। 

विशेष