News

न्याय माग्न जाँदा अदालत परिषरबाट उपप्राध्यापक चलाउने पक्राउ

न्याय माग्न जाँदा अदालत परिषरबाट उपप्राध्यापक चलाउने पक्राउ

आफूमाथि कुटपिट गर्ने ब्यक्तिलाई जोगाउन सरकारले नै मुद्दा फिर्ता लिने निर्णय गरेपछि अनसन वस्न काठमाडौं जिल्ला अदालतमा पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। 

चलाउने सहित उनका सहयोगी र समर्थकलाई समेत पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। 

२०७७ असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

मंगलबारका लागि पेशी तोकिएको मुद्दा फिर्ता गर्ने निर्णयपछि उनी अदालतमा सत्याग्रह सुरू गर्ने भन्दै त्यहाँ पुगेका थिए। आफूले न्याय पाउने सबै बाटो बन्द भएको भन्दै उनले यो कदम उठाउन बाध्य भएको बताए।

उनले देशको विधिको शासन र लोकतन्त्रमाथि नै प्रश्न उठाए। ‘अदालतलाई, यो बेन्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिँदैछ,’ उनले भने। 

राज्य नै अपराधीहरूले सञ्चालन गरिरहेको भन्दै उनले अनसन सुरू गर्ने बताएका छन्। ‘यो देश गुण्डा, अपराधिको देश रहे, मलाई यो अपराधीको देशमा बाँच्नु छैन। राज्यले मलाई थप अन्याय गर्यो। त्यसैले म जस्ता हजारौं पीडित राज्यबाटै थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनसन सुरू गर्दैछु’ उनले भने।

मन्त्रिपरिषदले मुद्दा फिर्ता गर्ने निर्णयको पत्र आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत महान्यायाधिवक्ता कार्यलय हुँदै सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेको हो। कार्यालयले उक्त निर्णय प्राप्त गरेसँगै मुद्दा फिर्ता गरेको पत्र काठमाडौं जिल्ला अदालतमा पुगिसकेको छ। 
 

विशेष