करण केसीले एक्लैले झारे अमेरिकाको ४ विकेट

आईसीसी विश्वकप छनोट खेलमा नेपालका लागि करण केसी एक्लैले अमेरिकाको ४ विकेट झारेका छन्।
अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। करणले १.५ ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालालाई आरिफ शेखबाट क्याच गराए।
यस्तै ७.५ ओभरमा जोन्सलाई करणले कुशल भुर्तेलबाट क्याच गराए। यस्तै करणले १ रनमा आरिफबाट क्याच गराउँदै उत्कृष्ट बलिङको नमुना देखाए। त्यतिबेला अमेरिकाले ९.२ ओभर ४ विकेट गुमाउँदा १८ रन बनाएको स्थिति थियो।
जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका दबाबमा परेको छ ।
सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।
सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए। टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने छन्।
पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए। सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ।
नेपाल र अमेरिकाबीच भएका पछिल्ला ६ एकदिवसीय खेल मध्ये नेपाल तीन र अमेरिका दुई खेलम विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमरिकालाई पराजित गरेको थियो।
त्यसपछि ओमानमा २०२१ मा भएको दुई मध्ये नेपाल र अमेरिकाले एक एक खेलमा जित निकालेका थिए।
अमेरिकामा २०२२ मा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिदा अर्को खेलमा अमेरिका वियजी भएको थियो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।