अपराधी उम्काउने सरकारको निर्णय अदालतले टेरेन
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय अदालतले अस्विकार गरेको छ। सरकारी वकिल कार्यालय मार्फत मुद्दा फिर्ता लिन दिईएको निवेदन जिल्ला अदालत काठमाडौंले सुनुवाइ गर्न अस्विकार गरेको हो ।
न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाई गर्न अस्विकार गरेको हो । न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेश गर्न आदेश दिएका छन् ।
सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवेदन पेश गरेको थियो । त्यो निवेदन मुद्दाको पुरक निवेदनको रुपमा पेशीमा चढेर इजलासमा पुग्नुपर्नेमा सोझै मिसिल सहितको फाइल न्यायाधीशकोमा पुगेको थियो ।
यता, सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेर निवेदन अदालतमा पुगेको जानकारी पाएपछि प्रेम चलाउने आमरण अनुसानमा वसेका छन् भने उनका कानून व्यवसायीहरु त्यसको प्रतिवाद गर्न जिल्ला अदालत पुगेका थिए ।
अधिवक्ताहरु स्वागत नेपाल, राधिका चौलागाई लगायतले सरकारको निर्णय प्रक्रियासम्मत नभएको भन्दै मुद्दा फिर्ताको निवेदनमा अनुमती दिन नहुने माग गरे । उनीहरुको मागपछि इजलासले निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेशी तोक्न आदेश गरेको हो ।