News अपराध सुरक्षा

सरकार नै अपराधी जोगाउन लागेको भन्दै सर्वोच्च पुगे चलाउने

सरकार नै अपराधी जोगाउन लागेको भन्दै सर्वोच्च पुगे चलाउने

सरकार नै अपराधीलाई संरक्षण गर्न लागेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् । सरकारले काठमाण्डौं जिल्ला अदालतमा रहेको ज्यानसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी सर्वोच्च पुगेका हुन।

मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको निर्णय बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । उनको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ ।

समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो । उक्त घटनामा नेपाल विद्यार्थी संघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरि आचार्य, महासचिव योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।

हालै कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको छ र उक्त निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमडौंमा पेश भएको छ ।

बुधबार पेश भएको निवेदन पेशीमा नचढेका कारण न्यायाधीशले सुनुवाइ गर्न अस्विकार गरी अर्को दिन पेशी तोक्न आदेश गरेका थिए ।

उपप्राध्यापक चलाउनेले मुद्दा फिर्ताको निर्णय तत्काल बदर नगरे अर्थहीन हुने भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा पेश गरेको निवेदनको सुनुवाइ रोक्न अन्तरिम आदेश माग गरेका छन् ।
 

प्रेम चलाउने

विशेष