सरकारले ढाटेपनि चीनले भन्योः पोखरा विमानस्थल बीआरआई अन्तर्गतकै हो
नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी ऋण सहायतामा निर्माण भएका भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थल परियोजनालाई चीनसँगको भूराजनीतिक परियोजना बीआरआईसँग जोड्न नमिल्ने बताए पनि चीनले भने फेरी पनि उक्त परियोजना बीआरआई अन्तर्गतकै भएको दोहो-याएको छ।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई परियोजनाअन्तर्गत भएको बताए।
यसअघि गत पुसमा विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत वाङ सिनले पनि पोखरा विमानस्थल ‘बीआरआई’ अन्तर्गतकै भएको बताएका थिए । उद्घाटनको अघिल्लो दिन काठमाडौंस्थित चिनियाँ दूतावासले पनि वक्तव्य जारी गर्दै पोखरा विमानस्थल बीआरआईअन्तर्गत रहेको दाबी गरेको थियो ।
तर, त्यस लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलसँग बीआरआईको कुनै सम्बन्ध नभएको बताएका थिए। ‘बीआरआईको अवधारणा सन् २०१३ सेप्टेम्बरमा आएको हो,’ उनले भनेका थिए ‘त्यसलाई नेपालले २०१७ मा अनुमोदन गरेको थियो । तर, भैरहवा र पोखरामा सन् २०१२ मै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अवधारणा सुरु भइसकेका थिए ।’
उनको यो भनाईको खण्डन हुने गरी बुधबार राजदूत छनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए । उनले यो परियोजना बीआरआई अन्तर्गतकै भएको पनि स्पष्ट पारे।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्राधिकरणले २०७२ सालमा चीन सरकार र त्यहाँको एक्जिम बैंकसँग ऋण लिएको छ। नेपाल सरकारमार्फत एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन निर्ब्याजी र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने सर्तमा गरी कुल १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन ऋण लिईिएको छ।
नेपाल सरकारले प्राधिकरणलाई ५ प्रतिशत ब्याजदरमा (सहायक ऋण) यो ऋण उपलब्ध गराएको थियो ।
पोखरा विमानस्थल बीआरआई