प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिन सर्वोच्चले रोक्यो

उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतले मुद्दा फिर्ता लिनुको कारण पेश गर्न पनि सरकारलाई आदेश दिएको छ । अदालतको आदेशसँगै जिल्ला अदालतमा सरकारी वकिलले मुद्दा फिर्ता लिन दिएको निवेदन प्रभावहीन भएको छ ।
यो आदेश चित्त नबुझे सरकार अन्तरिम आदेश खारेजको माग गरी सर्वोच्च अदालत जान भने सक्नेछ ।
आफूमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए ।
मुद्दा फिर्ता लिने सरकारको निर्णय युक्तिसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनले सरकारको निर्णय तत्काल रोक्नुपर्ने माग गरेका थिए ।
सरकारको निर्णयपछि उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका छन् । चलाउनेलाई न्याय माग्दै प्रदर्शनहरु समेत भएका छन् ।