News

उपेन्द्रको साथ पाउन बाबुरामलाई त्यागेको प्रचण्डले स्वीकारे

उपेन्द्रको साथ पाउन बाबुरामलाई त्यागेको प्रचण्डले स्वीकारे

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा गठनमा जसपाका अध्यक्ष उपेन्द्र यादवका कारण नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई छोड्नु परेको स्वीकारेका छन्।

दिलभूषण पाठकको ‘टफ–टक’मा दाहालले उपेन्द्र यादवकै कारण बाबुरामलाई समाजवादी मोर्चामा समेट्न नसकिएको स्वीकारे। ‘योचाहिँ साँचो हो कि उपेन्द्रजीको पार्टीलाई, उपेन्द्रजीलाई असहज भएको कारणले बाबुरामजीलाई समेट्न सकिएन’ उनले भनेका छन्–‘तर, भिन्न ढङ्गले समेट्ने नै छौँ।’

भट्टराईसँग आफनो नराम्रो नभएको पनि दाहालले वताए । ‘भर्खरै सम्बन्ध–विच्छेद भएको हुनाले उपेन्द्रजीलाई बढी नै असहज भयो । फेरि मोर्चासँग सँगै बस्नु उहाँलाई निकै असहज भयो’ दाहालले भने–‘मैले त बाबुरामजीलाई पनि राखौँ, भोलि पार्टी एकता भएपछि त पार्टी एउटै भइहाल्छ, अहिले मोर्चामा राख्न के अप्ठ्यारो छ भनेको थिएँ ।’

भट्टराईले भने आफुलाई अलग राखेर मोर्चा गठन गरिएकोमा असन्तुष्टि जनाएका छन्। उनले ट्वीटरमा लेखेर मोर्चाका विषयमा आफनो धारणा समेत सार्वजनिक गरिसकेका छन्। दुइ बर्ष अघिदेखि समाजवादी केन्द्र÷मोर्चाको अवधारणा ल्याउने आफुलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गरिएकोमा भट्टराईले चित्त दुखाएका छन्। 

‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिनु! दोश्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु! तेश्रो, दुइ बर्ष अघिदेखि समाजवादी केन्द्र÷ मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु! के यो सबै आकस्मिकता हो?’ उनले भनेका छन्–‘कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र?’

समाजवादी मोर्चा

विशेष