ओखलढुंगामा पहिरोले पुरिएर बुवा–आमा र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुंगामा गए राती पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।
विहिवार राती पहिरो जाँदा चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पुरिएको छ। गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरोमा परी बेपत्ता भएका छन्।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खोज तथा उद्वारामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पनि खटिएका छन्।
राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएका छन्। ती दुई घरमा बस्नेले भने भागेर ज्यान जोगाएको इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए।