News खेल

हरारेबाट टुङ्गियो नेपालको क्रिकेट विश्वकप यात्रा !

हरारेबाट टुङ्गियो नेपालको क्रिकेट विश्वकप यात्रा !

नेपाली क्रिकेट टिमको विश्वकप यात्रामा विराम लागेको छ। नेदरल्यान्ड्ससँग ७ विकेट फराकिलो हारसँगै विश्वकपमा पुग्ने नेपालको सपना अधुरो रहेको हो। जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भयो।

नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गरेको छ। जसका लागि नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे। उनले पहिलो विकेटका लागि विक्रमजीत सिंहसँग ८६ रनको साझेदारी गरे। 

नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । टस हारेर ब्याटिङ गरेको नेपाललाई सुरुदेखि नै नेदरल्यान्ड्सले दबाबमा राखेको थियो। टिमको स्कोर ७ हुँदा नेपालले ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ३९ रनको साझेदारी गरे। ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।


नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए भने सन्दीप लामिछानेले २७, कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । आरिफ शेख ६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३ विकेट, विक्रमजीत सिंहले २ र क्लाटन फ्लोयड तथा आर्यन दत्तले १–१ विकेट लिए । 
 

क्रिकेट

विशेष