आदिपुरुष प्रकरणमा बालेन्द्रविरुद्ध कस्ले दर्ता गर्यो सर्वोच्चमा मुद्दा ?

हिन्दी फिल्म आदिपुरुष प्रकरणमा ‘अदालतलाई मान्दिन’ भनेका बालेन्द्र साह विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतको अवहेलना गरेको भन्दै उनीविरुद्ध रिट दर्ता भएको छ।
बालेन्द्र विरुद्ध रिट दर्ता गर्ने अधिवक्ता वर्षा कुमारी झा हुन। उनले शुक्रबार रिट दायर गरेकी हुन्। बालेन्द्रले बिहीबार सामाजिक सञ्जालमा देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका थिए।
उनले काठमाडौंमा हिन्दी फिल्म चलाउने प्रतिबन्ध लगाएका छन्। त्यस विरुद्ध हल सञ्चालकले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले फिल्म सञ्चालनमा प्रतिबन्ध नलगाउन आदेश दिएपछि उनले त्यो फिल्म चलाउन दिनु भनेको अदालत पनि भारतको गुलाम भएको बुझिन्छ भन्दै टिप्पणी गरेका थिए।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’ उनले लेखेका थिए–‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनिहरुको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’
उनको यो अभिब्यक्तिपछि नागरिकमै मत विभाजित भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, संविधानविद् भीमार्जुन आचार्य लगायतले बालेन्द्रको समर्थन गरिरहेका छन् भने कतिपयले भने अदालत, कानुन नै मान्दिनँ भन्नु संविधानविपरीत काम हो भनी कडा आलोचना गरिरहेका छन्।
बालेन्द्र साह आदिपुरुष