हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नवनाउन उजुरी दिएका न्यायाधीश भट्टराईले दिए राजीनामा
हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश वनाउन नहुने भन्दै संसदीय सुनुवाई समितिमा उजुरी दिएका अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
आफैले उजुरी गरेको र अयोग्य ठानेको ब्यक्ति प्रधानन्यायाधीश भएपछि उसकै मातहतमा रहेर काम गर्न नैतिक संकट परेको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
भट्टराईले सोमबार प्रधानन्यायाधीश कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । सोमबारबाटै लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् । यसअघि असार १० गतेसम्म न्यायाधीश भट्टराई बिदामा बसेका थिए ।
भट्टराईको राजीनामा प्रधानन्यायाधीश कार्कीले आवश्यक कार्यार्थका लागि लेखी पठाएका छन् । उनले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको भन्दै संसदीय सुनुवाइ समितिमा २६ पृष्ठ लामो उजुरी दर्ता गराएका थिए । तर सुनुवाइ समितिले उनको उजुरीलाई ‘उजुरीका लागि उजुरी’ भन्दै छलफल गर्नै उचित ठानेन ।
यसअघि न्यायाधीश भट्टराईविरुद्ध न्याय परिषद्मा पनि उजुरी परेको थियो । कास्की जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतमा रहँदा फैसलामा कैफियत गरेको भन्दै उनीविरुद्ध परिषद्मा उजुरी परेको थियो ।
भट्टराईले कास्की जिल्ला अदालतमा रहँदा लागूऔषध मुद्दाका प्रतिवादीलाई ६ महिना कैद गरी सोही दिन फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ को सुविधा दिएर छाडेका थिए । बलात्कारको कसुरमा सोही जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको भएपनि अभियोगपत्रमै फरार देखाइएका प्रतिवादीलाई न्यायाधीश भट्टराराईले केही उल्लेख नगरी छाड्न आदेश दिएका थिए ।
श्रीकृष्ण भट्टराई