News

गृहमन्त्रीको निर्देशन पाउँदा पनि किन पक्राउ परेनन् आरजु र सिटौला?

सरकार ढल्नु अघि नै पक्राउ गर्न निर्देशन, हच्कियो प्रहरी

गृहमन्त्रीको निर्देशन पाउँदा पनि किन पक्राउ परेनन् आरजु र सिटौला?

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको प्रहरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि आरजु देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला सिटौलालाई पक्राउ गर्न ग्रिन सिंगनल पाएको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको चर्चा अहिले प्रहरी वृत्तमा ब्यापक छ। प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठले गत शुक्रवार नै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई यस्तो निर्देशन दिएका हुन ।

पहिलो चरणमा पक्राउ परेका आरोपितहरूले बयानका क्रममा नाम लिएका र कुनै न कुनै रूपमा संलग्नता देखिएका तर छानबिनको दायरामा नआएकाहरूको हकमा पनि अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेको थियो। गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा यस्तो निर्णय भएको हो।

सोही आधारमा गृहमन्त्री श्रेष्ठले उनीहरूलगायत अन्यलाई पनि पक्राउ गरेर दोस्रो चरणका कारबाही अगाडि बढाउन भनेको स्रोतले जनाएको छ। आरोपितहरूले डा. आरजुको साथै पूर्वगृमन्त्री बालकृष्ण खाँडकी पत्नी मन्जु खाँडको पनि नाम लिएका थिए । उनीहरूले पैसा उठाएको भनेर अडियोसमेत सार्वजनिक भएको थियो । त्यसको सत्यताको बारेमा परीक्षण गर्न डा. आरजुले प्रहरीमा उजुरी पनि दिएकी थिइन ।

प्रहरी भने उनीहरुलाई पक्राउ गर्न हच्किएको पाईएको छ। दोस्रो चरणको कारबाहीमा फरार रहेका १५ जना व्यक्तिलाई पक्राउ गरेर थप प्रमाण संकलन गरेर मात्रै उनीहरुलाई पक्राउ गर्ने पक्षमा प्रहरी छ ।

तर, गृहमन्त्री श्रेष्ठ भने आरजु र सिटौलालाई पक्राउ गराएर त्यसको जस लिने पक्षमा देखिएका छन्। केही दिनदेखि पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने र नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्ने भनेर राजनीतिक हल्ला चलेपछि जानुभन्दा अगाडि नै यो काम फत्ते गर्ने पक्षमा उनी देखिन्छन्।

मंगलबार राति चीन जाने तयारीमा रहेका श्रेष्ठले यसै सेरोफेरोमा आरजु र सिटौलालगायतका केही व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका हुन । सिटौला, डा. आरजुलगायतका केही नेताहरू यो गठबन्धन टुटाउन लागेको आशंकामा नेतृत्वसँगको सहमतिमै गृहमन्त्रीले यस्तो निर्देशन दिएको जनाईएको छ।

भुटानी शरणार्थी

विशेष