साफ च्याम्पियनसिपमा १५ वर्षपछि नेपालले पाकिस्तानलाई हरायो
भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा साफ च्याम्पियनसिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो। आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध नेपालले जित निकालेको हो।
सन् २००८ मा पाकिस्तानलाई हराएको नेपालले त्यसको १५ वर्षपछि फेरी हराएको हो। त्यसयता भने नेपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन । सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
आजको जितसँगै नेपालले अंकतालिकामा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेर साफको यात्रा अन्त्य गरेको छ। नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो।
आशिषले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो। राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो। ४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ । एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि लडेका थिए।