News अर्थ

वजेट पास गर्नुभन्दा सरकार छोड्न तयार भएका सांसदहरु सरकार नै ढल्ने भएपछि ‘यु–टर्न’

वजेट पास गर्नुभन्दा सरकार छोड्न तयार भएका सांसदहरु सरकार नै ढल्ने भएपछि ‘यु–टर्न’

नेकपा एकीकृत समाजवादी अधिकांश सांसद आर्थिक वर्ष २०८०/८१ को बजेट अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा संसदबाट पास हुन नदिने पक्षमा थिए। पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले त बजेट पास नगर्दा सरकार छाड्नु परे पनि छाड्न तयार रहेको घोषणा गरेका थिए।

‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ,’ उनले भनेका थिए, ‘अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ।’

उनीमात्र होईन, अध्यक्ष माधबकुमार नेपालले पनि यथास्थितीमा वजेट पास नहुने भन्दै सार्वजनिक बक्तब्य दिए। 

जनता समाजवादी पार्टीका सांसदहरुले पनि वजेटमा असन्तुष्टि जनाए। वजेट वनाउँदा मधेशलाई हेपिएको भन्दै यथास्थितीमा पास हुन नदिने उनीहरुको पनि भनाई थियो। जनमत पार्टीका अध्यक्ष सीके राउतले त यथास्थितीमा वजेट पास भए सरकारलाई दिएको समर्थन नै फिर्ता लिने घोषणा गरे।

तर, वजेट पास गर्नु पर्ने समय आएपछि भने तीन वटै पार्टीका सांसद नाटकिय रुपमा थामथुम भएका छन् । बजेट पारित गर्ने सरकारको तयारीसँगै नेकपा एकीकृत समाजवादी र जसपा दुवैले आफ्ना सांसदलाई बजेटको पक्षमा मतदान गर्न ‘ह्विप’ नै लगाउने तयारी थालेका छन् । नेकपा माओवादीले त ह्विप जारी गरिसकेको छ।

नेकपा एकीकृत समाजवादीले बुधबार बिहान संसद् बैठक बस्नुअघि संसदीय दलको बैठक बोलाएको छ । सांसदहरुलाई ह्विप जारी गर्न वैठक वोलाईएको जनाईएको छ। जसपा पनि अन्तिम समयमा बजेटप्रति ‘यु–टर्न’ भएको छ । सांसद प्रदीप यादवले जसपाले बजेटको पक्षमा मतदान गर्ने बताए ।

बजेटप्रति सत्तारुढ दलबाटै चर्को विरोध र असन्तुष्टि पैदा भएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार अप्ठ्यारोमा पर्ने अड्कलबाजी भइरहेको थियो । तर, शनिबार बालुवाटारामा भएको शीर्ष नेताको छलफलमा बजेट पास नगर्ने हो भने सरकार ढल्ने र त्यसको फाइदा एमालेले उठाउन सक्ने विश्लेषण भएपछि बजेट पास गर्नु पर्ने विकल्प तयार भएको जनाईएको छ।

बालुटार वैठकपछि शनिबारै प्रधानमन्त्रीले नेकपा एकीकृत समाजवादी र जसपाका नेतासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए । बजेटकै कारण सरकार ढल्ने हो भने त्यसपछि एमाले र कांग्रेस मिल्ने र सरकार बनाउने ठुलो खतराबारे प्रधानमन्त्रीले उनीहरुलाई सम्झाएका थिए।

त्यही छलफलपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेट संशोधन नभई पास हुने प्रतिक्रिया दिएका थिए । ‘बजेट पास हुन्छ, त्यसमा दुई मत नै छैन । थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो’, मन्त्री महतले भनेका थिए, ‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ ।’

त्यसअघि आईतवार नै माधव कुमार नेपालले पनि अहिलेको अवस्थामा मिलेर अघि बढ्नुको विकल्प नभएको भन्दै बजेटप्रति ‘यु–टर्न’ भएको संकेत गरेका थिए ।

बजेट

विशेष