News अर्थ

किन बजेटको विपक्षमा उभिए रविका सांसद? मत विभाजनबाट वहुमतले पारित

किन बजेटको विपक्षमा उभिए रविका सांसद? मत विभाजनबाट वहुमतले पारित

प्रतिनिधिसभा बैठकमा पहिलो पटक मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको छ। बुधबार आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो ।

नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । जसमा विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ।

बजेटका विषयमा २०४७ मा बहुदलीय व्यवस्था आएपछि पहिलो पटक मत विभाजनको अभ्यास गरिएको हो । यसअघिका वर्षहरूमा ध्वनीमतका आधारमा बजेट पारित हुने गरेका थिए । बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले बजेट पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए ।

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष ०८०÷०८१ को बजेट बहुमतले पारित भएको छ । बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले विपक्षमा मत दिएका थिए ।

निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने भन्ने बजेटको व्यवस्था बाहेक अन्य सबै विषय यथास्थितिमा पारित भएको छ । बजेटका विनियोजनहरु संशोधन नभए बजेट नै पारित हुन नदिने धम्की दिँदै आएका एकीकृत समाजवादी र जसपाले यथास्थितिमै बजेटको पक्षमा उभिए ।

सांसदरूले राखेका खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको हो । यसपटक सत्तारुढ दलका सांसदहरूले नै बजेट संशोधन हुनुपर्ने माग राखेका थिए । 
प्रधानमन्त्री दाहालले बजेट पारित गर्नका लागि सत्तारुढ दलका नेताहरूसँग छलफल गरेका थिए । दलहरूबीच बजेट कार्यान्वयनका क्रममा योजना वितरणमा भएको असन्तुलनलाई मिलाउने समझदारी बनेको थियो ।

बजेट

विशेष