भारतीय प्रहरीको गोली लागेर दुई नेपालीको मृत्यु, डकैती गरेको आरोप

सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको भारतीय प्रहरीको गोली लागेर मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्।
लालबन्दी २ पुनर्वासका करिव ४५ वर्षिय राजेश पासवान र रुमाले पासवानको मृत्यु भएको हो। पुनर्वासकै अन्य चार युवा पनि गम्भीर घाइते भएका बताइएको छ। तर, उनीहरूको नाम खुलेको छैन।
नेपाल प्रहरीले भने मृतक र घाइतेको विषयमा आधिकारिक जानकारी दिएको छैन। डकैतीमा संलग्न समूहमाथि भारतीय प्रहरीले गोली चलाएको प्रहरीको भनाई छ।
जानकारी अनुसार आइतबार राति बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पंजियारले घटनाको विषयमा आफूले सामाजिक सञ्जालमा सुनेको बताए।
डकैती गर्ने समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको भारतीय प्रहरीको दाबी छ। डकैती हुँदैछ भन्ने खबर पाएर घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले घेरा हालेपछि लुटेरा समूहले गोली प्रहार गरेको उसले बताएको छ।
उक्त समूहको गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी पनि घाइते भएको जनाईएको छ।