नारी जागरणका नाममा ५ करोड र गहना ठगी गरेको आरोपमा धर्म गुरु पक्राउ

नारी शक्तिको जागरण गराउने भन्दै ठगी गरेको आरोपमा आफूलाई धर्म गुरु बताउने दोलखा स्थायी घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ।
शिवसुत गौरी भक्त भनिने काफ्लेलाई पाँच करोड नगद र सय तोला सुन ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।
हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोलेर ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाई सर्वसाधारणलाई लगानी गर्न अभिप्रेरित गरी ठगी गरेको उनीमाथि आरोप छ।
उनले पीडितहरूलाई स्वदेशी तथा विदेशी विभिन्न कम्पनीमा रकम लगानी गर्न लगाउने गरेका थिए। नाफा निश्चित रहेको प्रलोभनमा पारेर लगानी गर्न प्रेरित गर्ने र पछि पटक–पटक थप लगानी गर्न दबाब दिने गरेको प्रहरीको भनाइ छ ।
काफ्लेलाई असार ९ गते कञ्चनपुरको गड्डाचौकीबाट प्रहरीले पक्राउ गरेको हो । उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।
उनीउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट सात दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।