एक मत नपाएर कोशीमा ढल्दैछ एमाले सरकार, आज विश्वासको मत लिदै कार्की
![एक मत नपाएर कोशीमा ढल्दैछ एमाले सरकार, आज विश्वासको मत लिदै कार्की](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/03/hikmat-karki.jpg)
कोशी प्रदेशमा एक मतका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकार ढल्ने खतरा वढेको छ। मख्यमन्त्री कार्कीले आजै (बिहीबार) विश्वासको मत लिँदैछन्।
जसपा र माओवादीले सरकार छोडेपछि अल्पमतमा परेको सरकारमा वहुमत सिद्ध गर्न मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। १३ सदस्यीय माओवादीले सरकार छाडेपछि कार्की अप्ठ्यारोमा परेका छन्।
नेकपा एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ गरी ४६ मत रहेका कार्कीले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आह्वान गर्दैछन्। तर कोशी प्रदेश सभामा सरकार बनाउन र विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।
कार्कीसँग विश्वासको मतका लागि अझै १ जना सांसदको संख्या कम छ। त्यो संख्या थपिने संभावना देखिएको छैन। अर्कोतर्फ नेपाली कांग्रेसको २९, नेकपा माओवादीका (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ सांसद उनको विपक्षमा छन्।
अहिलेसम्म एमाले र राप्रपाले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र बिहीबारसम्म अन्य दलमध्येको कोही विश्वासको मत दिन तयार हुने दावी कार्कीले गरेका छन्। कार्कीले विश्वासको मत नपाए कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिसकेको छैन।