News

पशुपतिको ९ स्क्वाएर फिट जग्गामा मन्त्री किराँतीको ‘कब्जा’

जलहरीमा नाम लेख्दा आपत्ति जनाउने पार्टीका मन्त्रीको विरुवामा पनि नाम!

पशुपतिको ९ स्क्वाएर फिट जग्गामा मन्त्री किराँतीको ‘कब्जा’

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्ग (गर्भगृह) मा जलहरी राख्दा तत्कालिन प्रधानमन्त्री केपी ओलीले ११ किलो सुन वेपत्ता पारेको भन्दै केही दिनअघि संसदमा कांग्रेस र माओवादी सांसदले कोकोहोलो मच्चाए।

करिब साढे दुई वर्षअघि राखिएको जलहरी प्रकरणमा ओलीले भ्रष्टाचार गरेको भन्दै उनीहरुले छानविन गर्न माग गरे। नभन्दै गत आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिमा छि–यो। मन्दिरबाट जलहरी निकालेर नापजाँच गर्दा जुन अनुपातमा सुन भ्रष्टाचार गरिएको आरोप लगाईएको थियो, त्यो असत्य सावित भयो।

त्यसपछि कांग्रेस र माओवादीका सांसदले नयाँ विषय समाते। जलहरीमा पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्री ओली लगायत १३ जनाको नाम लेखिएको भन्दै ‘यो तिमिहरुको निजी सम्पत्ति हो र, नाम लेख्नलाई ?’ भन्नसम्म भ्याए। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ‘के अव भण्डारी र ओलीको नामबाट वगेको पानी हामीले खानु पर्ने ?’ भन्दै प्रश्न गरे।

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले ‘पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनु भएको रहेछ’ भन्दै प्रतिक्रिया जनाए । अन्त्यमा जलहरीमा नाम लेखिएको विषय पनि पुष्टि भएन। पशुपति विकास कोषका एक पदाधिकारीका अनुसार जलहरीमा कसैको नाम लेखिएको छैन। जलहरीमा नभई ताम्रपत्रमा नाम लेखिएको र त्यसमा पनि ओलीको नाम नभएको उनले वताए ।

यता, माओवादीका मन्त्री भने विरुवा रोप्दा समेत आफ्नो नाम लेखाउन थालेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथ मन्दिरको गेटमै करिव ९ स्क्वाएर फिट जग्गा कब्जा गरेर बेल र कपुरको विरुवा रोपेका छन्। बैशाख २ गते विरुवा रोपेर उनले घेरावेरापछि आफनो मात्र होईन, आमा रक्षकुमारी राईको समेत नाम लेखेका छन्।

‘आमा रक्ष कुमारी राईको स्मृतिमा बेल÷कपुर वृक्ष रोपेको छु। सुदन किराती– मन्त्री संस्कृति, पर्यटन,  नागरिक उड्डयन’– उनले लेखेका छन्। मन्दिरको जग्गा कब्जा गरेर आफनो र आमाको समेत प्रचार गरेको भन्दै अहिले मन्त्री किराँतीको आलोचना भईरहेको छ। 

‘जग्गा पशुपतिको, बिरुवा पशुपतिको, बार–बेर पशुपतिको, बिरुवा रोप्न तामझाम गरेर गरेको खर्च पनि पशुपतिको। तर, प्रचार किन किराँतीको ?’ भन्दै त्यहाँ पुग्नेहरुले विरोध गरेका छ। ‘सुदन किराँतीले आफनो नीजि सम्पत्ति सरह यसरी जग्गा कब्जा गर्न पाउने हो भने अन्यले पनि त्यो अवसर पाउनु पर्ने उनीहरुको भनाई छ।

जलहरी सुदन किराँती जग्गा कब्जा

विशेष