News

सिंहदरबारको दुर्गन्ध नाकमा बोकेर प्रचण्डको इन्दौर यात्रा, फोहोर व्यवस्थापन केन्द्र अवलोकन

इन्दौर नगर निगमको फोहोर व्यवस्थापन अभियान विश्वमै नमूना

सिंहदरबारको दुर्गन्ध नाकमा बोकेर प्रचण्डको इन्दौर यात्रा, फोहोर व्यवस्थापन केन्द्र अवलोकन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केही दिनअघि प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारसमेतमा नाकावन्दी गरे। संघीय सरकारसँग विच्किएका उनले सिंहदरबार भित्रको फोहोर नउठाउन महानगरपालिकाका कर्मचारीहरुलाई निर्देशन नै दिएर विद्रोह गरे।

उनको यो निर्देशनपछि सिंहदरबार केही दिन डुङ्डुङ्ती गनायो। फोहोरको त्यो दुर्गन्ध अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारका मन्त्रीहरुको नाकबाट हटेको छैन। त्यसैले होला, भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शुक्रवार मध्य प्रदेशको सफा र स्वच्छ सहर इन्दौर पुगे।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर नगर निगमले फोहोर व्यवस्थापनमा गरेको काम विश्वमै नमूनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

दाहालले त्यहाँ पुगेर फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् । यस क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहोरको व्यवस्थापन हुँदै आएको बताएका थिए ।

कुल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहोर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिृकत सिंहले जानकारी दिए ।

सो केन्द्रले फोहोरलाई व्यस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । त्यो ग्यास इन्दौर सहरमा चल्ने सवारी साधानमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपछि प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरु पठाइ फोहोर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताए। 

फोहोर व्यवस्थापन इन्दौर

विशेष